भर्खरै ग्राजुएसन सकेको केटाले इटहरीमा तहल्का मच्चायो । २ जोर प्यान्ट–सर्ट लिएर दार्जिलिङबाट झरेको केटाको पढाउने शैलीले इटहरीका अभिभावक कायल भए । उनको क्षमताको चुरो पहिल्याउन यहाँका अभिभावकलाई धेरै समय नै लागेन । भर्खरै इटहरी उदाउँदै थियो । ३० को दशकको अन्तिम समयको कुरो हो यो ।

अङ्ग्रेजी, विद्या, उमेर र ऊर्जाले ‘सार्प’ भएको युुवा अरु कोही नभएर राजिन थापा थिए । आएको एक हप्तामा उनको डेरामा दूध, घिउ र दही बोकेर अभिभावक पुुगे । पुुग्नुुको एउटै कारण थियो ‘थापा सर’ (अभिभावकले बोलाउने प्रिय नाम, जुन आजसम्म उही शब्दले सम्बोधन गर्छन् ।) माथिको विश्वास । अङ्ग्रेजी शिक्षाको राम्रो प्रभाव परेको छिमेकी देशको हावा पूर्वी नेपालमा नपर्ने कुुरै भएन । इटहरीमा खोलिएको पहिलो बोर्डिङका लागि थापा सरलाई ल्याइएको थियो । उनी यस क्षेत्रका अभिभावकको सपना थिए । सन्तानले राम्रोसँग अङ्ग्रेजी शिक्षा पाउन र विश्व बजारमा प्रतिष्पर्धी बन्न सकून् भन्ने सपना जो कोहीलाई थियो । तिनै अभिभावकको भरोसा बनेका थिए थापा सर ।
... ... ... ...
नेपालमा औपचारिक रूपमा शिक्षाको थालनी भएको करिब तीन दशक मात्र भएको थियो । अर्थात् राणाहरूले आफ्ना आफन्तलाई पढाउन शुरु गरेको धेरै भए पनि आमा नागरिकका लागि शिक्षाको दैलो उघ्रिएको खासै धेरै भएको थिएन ।

पूर्वी पहाडी जिल्ला त्यसै पनि विकट मानिन्छ । तर अप्ठ्यारो ठाउँमा फलेको फल स्वादिलो हुन्छ भन्ने उखान ओखर भित्रको गुदीलाइ देखाएर पुष्टि गर्ने प्रयत्न गरिन्छ । सोही ओखर जस्तै थिए, भोजपुुरका राजिन थापा । भोजपुुरको एक सामुुदायिक विद्यालयमा अध्ययन गरेका थापा तीक्ष्ण क्षमता भएका विद्यार्थी निक्लिए । उनले कालिम्पोङको एक राम्रो अङ्ग्रेजी विद्यालयमा पढ्ने सुअवसर प्राप्त गरे, कुरा सन् १९७६ को हो ।

उनले इटहरीमा पाइला टेकेको वि.सं. २०३९ साल साउन १९ गते हो । उनका एक साथी छन्, जो अहिले हङकङमा कानुन व्यवसायीको रूपमा अब्बल श्रेणीमा कार्यरत छन् । उनै साथीले उक्त समयमा थापाको पनि टिकट काटिदिए र भने ‘जौं नेपाल घुम्न ।’ उनी आफ्नो देश नआएको निकै समय भएको थियो पढ्न भनेर हिँडेका उनी ग्राजुएसन सकेपछि पनि नेपाल आउन पाएका थिएनन् । उनको ध्यान उच्च शिक्षासम्म राम्रोसँग अध्ययन गर्ने नै थियो । सहज सडक सञ्जालको व्यवस्था बन्न नसक्दा पहाडसम्म पुग्न निकै कष्ट बेहोर्नुपथ्र्यो । उनी साथीसँग घुम्न भनी धरान आए । पछि उनका साथीको आफन्तको आग्रहमा इटहरीको सेकेण्डरी बोर्डिङमा पढाउन थाले । त्यसपछि उनले कतै फर्केर हेर्न परेन ।

उनी रातदिन नभनी पढाउँथे । उनको मिहिनेत देखेर आमाले भन्नुुभएको सम्झन्छन् ‘एक दिन मेरो आमा आएर मेरो मेहेनत देखेर भन्नुुभयो हिँड् बाबुु, यस्तो दुुःख गर्नुुभन्दा त बरु हलो जोतेर खानुुपर्छ ।’

तर उनलाई इटहरीका अभिभावकको जिम्मेवारी थियो । उनीहरूका सन्तानको भरोसाको केन्द्र थिए उनी । त्योभन्दा ठूलो उनीप्रतिको प्रेम थियो । इटहरीको मायामा चुुर्लुुम्म डुुबेका थापाले १० वर्ष सो विद्यालयमा पढाए । त्यसपछि २ वर्ष पिसजोन स्कुुलमा पढाएपछि आफ्नै स्कुुल खोले । जसको नाम हो, ‘मोर्डन प्रिपेटरी’ ।

अङ्ग्रेजी विषयका अब्बल विद्यार्थी उनी इटहरीको जनता बहुुमुुखी कलेजका प्राध्यापकसमेत हुन् । उनले त्यहाँ १७ वर्ष सेवा गरेका छन् । हरेक कुरालाई सकारात्मक कोणबाट हेर्नुुपर्छ भन्ने विचार राख्ने थापा हाल क्यालिफोर्नियामा बस्छन् । उनी सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
.... ... ... ... ....
इटहरीमा रहँदा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेका थापाले पहिलो पटक सन् २००० मा अमेरिका जाने अवसर पाए । लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनको एक महत्वपूर्ण सेसन चलाउन उनी त्यहाँ पुुगेका थिए ।

पहिलेदेखि नै लायन्ससँग नजिक भएर सामाजिक गतिविधिमा तल्लीन रहेका उनले अमेरिका जाने आउने क्रम बाक्लो बनाउन थाले । पाँच पटकसम्म अमेरिका गएपछि उनी सपरिवार सन् २००३ मा अमेरिका पुुगेका हुन् । नेतृृत्वदायी क्षमता, लगनशीलता र धीरताले व्यक्तिलाई सफलतामा पुुर्याउँछ । नभन्दै आज उनी लायन्सजस्तो संसारको अग्रणी सामाजिक संस्थाको अग्रणी स्थानमा रहन सफल भएका छन् । एक नेपाली सन्तानले यो संस्थाको यति ठूलो स्थानमा पुुगेर काम गर्ने अवसर पाउनुु गौरवको कुरा हो । उनी क्यालिफोर्निया स्थित सी टु डिस्ट्रिक गभर्नर भएका छन् । लायन्सलगायत दर्जनौँ संस्थामा रहेर आफ्नो माटोका लागि उनी सेवा गरिरहेका छन् ।
... ... ... ...
पछिल्लो पटक उनी नेपाल आउनुुको एउटै उद्देश्य छ, विदेशमा रहेका नेपालीको लगानी नेपाल भित्र्याउने । विदेशमा रहेर अफ्नो माटोमा कसरी समृद्धिको पाइला अघि बढाउने योजनमा सहयोगीको भूमिका निर्वाह गर्न सकिन्छ भन्ने अभियानमा छन् उनी । नेपालका उच्च तहका नेतादेखि प्रदेशस्तरका विभिन्न ओहोदाका व्यक्तिलाई भेटेर यहाँको सम्भावना र लगानीका विषयमा दर्जनौँ पटक छलफल चलाइसकेका छन् । उनी भन्छन्, ‘आफू अवसरका लागि विदेश जानुुपर्ने बाध्यता भए तापनि नयाँ पुुस्ताले यहीँको माटोमा अवसर प्राप्त गरोस्, विदेशमा रहेर स्वदेशमा सेवा गर्न मन गर्ने मनकारीलाई देशभित्र भित्र्याउन सकूँ ।’
विदेशमा रहेर इटहरी र नेपालका लागि सोचिरहने थापा आफ्नो गाउँ फर्किंदा पुुनः विगतलाई सम्झिन्छन् । आफू १८ वर्ष विदेश रहँदा देशको हावापानी र माटोको सुुगन्धले पछ्याइरहेको बताउँदै अब देशमा रहेर केही गर्ने योजना रहेको सुनाए ।

इटहरीलाई विश्वको आधुुनिक शहरसँग जोड्ने ठूलो सपना लिएर उनी यसपटक क्यालिफोर्निया फर्कंदैछन् । प्रदेश १ लाई कसरी समुुन्नत प्रदेश बनाउने भन्ने ठूलो भिजन लिएर उनी पुनः ३ महिनापछि आउनेछन् । जसका लागि उनले सम्बन्धित पक्षसँग वार्ता गरिसकेका छन् ।
.... ...
माटोको मायाले तानिरहेको बताउने थापाले एक सफल व्यक्ति बन्न आदरणीय बन्न सक्नुु नै ठूलो कुरा रहेको सुनाए । आइतबार इटहरी ब्याङ्क्वेटमा लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले गरेको लिडरसीप डेभलपमेन्ट तालिममा उनले भने, ‘ठूला– ठूला कुरा गरेर काम नगर्ने होइन, स–साना कुराबाट परिवर्तनको सूत्रपात गर्न सकिन्छ । घरबाटै आदरणीय बन्न जाने मात्र समाजमा आदरणीय होइन्छ ।’ सायद उनले यही नियम अपनाए होला । जसका कारण आजसम्म पनि उनी आदरणीय छन् ।

यतिका वर्ष विदेश बसेका थापालाई सोही तलिममा सहभागी भएकी मिश्रा गुुरुङले भनेकी थिइन् ‘थापा सर हुँदा हामीलाई अभिभावकत्व मिलेको थियो, तपाईंले पढाएका मेरा छोराछोरी आज महत्वपूर्ण विषयमा ग्राजुएसन लिँदैछन्,’ उनले थपिन्, ‘ब्याट्री र तार लिएर हिँडिरहने मेरो छेरालाई देखाउँदै तपाईंले भन्नुुभएको थियो, छोरा इन्जिनियरिङतर्फ जालाजस्तो छ, उसको सोचअनुसार अघि बढाउनू । नभन्दै आज मेरो छोरा बिई गर्दैछ ।’

थापाले प्रदेश १ को सम्भावना देखेका छन् । यहाँको विकासका लागि के कस्तो काम गर्न सकिन्छ भनेर प्राविधिकहरूको सल्लाह लिएर नीति निर्माणको तहमा बसेकालाई सुुझाइसकेका छन् । यहाँको आर्थिक विकासमा विदेशमा रहेका नेपालीको लगानी भित्र्याउन लागि परेका थापालाई सबैको सहयोगको खाँचो छ । लगानीको सुरक्षाको वातावरण बनाई आर्थिक समृद्धिको यात्रामा अघि बढ्न संसारभरका नेपालीको सहयोग अपरिहार्य छ । थापा सरको भनाइ छ, ‘यो माटोको सेवा गर्ने समय हो ।’

twitter@milanbichhod