बेलायती राजकुमार ह्यारीले अब अमेरिकी मानसिक स्वास्थ्य फर्म, ‘बेटर अप’ मा ‘चिफ इम्प्याक्ट अफिसर’ का रुपमा काम गर्ने भएका छन् ।
यस सम्बन्धी जानकारी दिँदै ह्यारीले यो नयाँ भूमिकाका लागि अत्यन्तै उत्साहित रहेको बताएका हुन् । उनको काम गर्ने समय अनि पारिश्रमिकबारे भने विस्तृत जानकारी दिइएको छैन । गत वर्ष राजपरिवारको सदस्यका भूमिकाबाट पछि हटेका ह्यारी र उनकी पत्नी मेगान अहिले अमेरिकामा बसिरहेका छन् । र आर्थिक रुपमा पनि स्वतन्त्र हुन लागिपर्ने यसअघिको अन्र्तवार्तामा खुलासा गरेका थिए । केही समय अगाडि उनीहरुले नेट्फ्लिक्ससँग विभिन्न कार्यक्रमका लागि लाखौँ डलरको सम्झौता गरेको खबरमा आएको थियो । ह्यारीका अनुसार यो नयाँ काममा उनले मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर संवादहरु उठाउनेछन् र संवेदनशील विषयमा इमान्दरपूर्वक कुरा गर्नमा समर्थन जनाउनेछन् ।
समाचार एजेन्सी वाल स्ट्रि जर्नलका अनुसार ह्यारीले अन्य कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने छैन तर सुरक्षित पुष्टि भएपछि कम्पनीको हेडक्वाटरमै रहेर काम गर्नेछन् । कम्पनीको पहिलो चिफ इम्प्याक्ट अफिसरका रुपमा ह्यारीले उत्पादन रणनीति सम्बन्धी निर्णय लिनेछन् भने च्यारिटीमा पनि योगदान पुर्याउनेछन् र सार्वजानिक रुपमा मानिसक स्वास्थ्यको विषयमा वकालत गर्नेछन् । कर्पोरेटको दुनियाँमा चिफ इम्प्याक्ट अफिसरको पदलाई अत्यन्तै दुर्लभ मानिन्छ । २०१३ मा स्थापना भएको ‘बेटरअप’ ले मोबाइलमा आधारित रहेर प्रोफेसनल प्रशिक्षण, परामर्श र सल्लाह दिने गर्दछ । यसले ६६ मुलुकमा ४९ भाषामा सेवा प्रदान गरिरहेको छ जसका लागि २ हजार भन्दा धेरै प्रशिक्षकहरु छन् । -बीबीसीबाट