म्यानमारमा सेनाले एक सात वर्षीया बालिकालाई उनको घरमै गोली प्रहार गरी मारेको घटनाले यतिबेला पूरै विश्वलाई स्तब्ध बनाएको छ ।
किन म्यो छित नामक ती बालिकाको परिवारले बीबीसीसँग बताए अनुसार उनी आफ्ना बुवाको अंगालोमा जान खोज्दा दौडिने क्रममा उनलाई गोली प्रहार गरिएको थियो । मेन्डेले शहरस्थित उनीहरुको घरमा सेनाले छापा मारिरहेका बेलामा यस्तो भएको बताइएको छ । फेब्रुअरी १ देखि जारी सेनाको कूविरुद्ध आन्दोलनरत् नागरिकहरुमाथि पछिल्लो समय सेनाले अत्याधिक बल र हिंसा प्रयोग गर्दै आइरहेको छ । यसरी सुरक्षाकर्मीकै गोली लागेर र कुटपिटबाट मृत्यु हुनेको सङ्ख्या २६१ भन्दा धेरै पुगिसकेको अभियन्ता समुहले जानकारी दिएको छ । ती मध्ये २० जना त बालबालिकाहरु रहेको अधिकारवादी समूहले जनाएको छ । मंगलबार भने सेनाले मृत्यु भएका प्रदर्शनकारीहरुप्रति दुःख व्यक्त गरेको छ तर साथसाथै अराजक व्यवहार र देशमा हिंसा भड्काएको भनेर उनीहरुमाथि नै आरोप पनि लगाएको हो ।
किन म्यो छितकी दिदीका अनुसार मंगलबार सेनाले उनीहरुको छिमेकका सबैको घरमा खोजतलास गरिरहेको थियो र उनीहरुको घरमा पनि हतियार लिएर छापा मार्न आएका थिए । २५ वर्षीया मे थु सुमाया भन्छिन्, “उनीहरुले लात्तीले हानेर ढोका खोले । अनि बुवालाई घरमा परिवारबाहेक अरु कोही छ कि छैन भनेर सोधे ।” यसपछि उनीहरुले घरमा अरु कोही छैन भन्दैगर्दा अचानक झुटो बोलेको आरोप लगाउँदै सेनाले आक्रामक रुपमा घरभरि तलासी गरेको उनले बताइन् । त्यही समयमा सानी किन म्यो छित बुवाको काखमा जान दौडदै गर्दा उनीमाथि गोली चलाइएको सुमायाले भावुक हुँदै बताइन् । त्यस्तै समुदायसँग दिएको अर्को अन्तर्वार्तामा चाहिँ म्यो छितका पिताले आफ्नी छोरीको अन्तिम शब्द “बुवा म सक्दिनँ । एकदम धेरै दुख्यो” भनेको बताएका थिए जसले उपस्थित सबैलाई मार्मिक बनाएको थियो ।
तिनका अनुसार गोली लाग्नासाथ उनलाई कारमा हालेर अस्पताल लगिँदै थियो तर आधा घण्टाभित्रै उनको मृत्यु भयो । त्यस्तै प्रहरीले उनका १९ वर्षीय छोरालाई पनि कुटपिट गरी पक्राउ गरेको बताइएको छ । सेनाले यो विषयमा कुनै बयान दिएको छैन । यसरी बच्चाहरु आफ्नो घरैमा बस्दा पनि दिनदिनै निर्मम तरिकाले मारिनु वास्तवमै भयानक भएको सेभ द चिल्डरेन समुहले अक्रोशित हुँदै बताएको छ । -बीबीसीबाट