इटहरीः नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा उभिने बताएका छन् ।
बिहीबार सुनसरीको इटहरीमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन, युवा तथा खेलकुद विभाग प्रदेश १ ले आयोजना गरेको प्रदेशस्तरीय फुटबल खेलको उद्घाटन सत्रमा बोल्दै उनले कोइराला परिवार एकै ठाउँमा रहने बताएका हुन् । ‘हामी तीन जना (शशांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरला) एकै ठाउँमा छौँ’, उनले भने, ‘यसले तपाईँलाई के संकेत दिन्छ भने तीन जना कोइराला परिवार एकै ठाउँमा हुन्छौँ, आउँदो महाधिवेशनमा पनि हामी एकै ठाउँ उभिन्छौँ ।’ महाधिवेशनमा मात्रै नभएर अन्य समयमा पनि आफूहरुसँगै रहेको र आगामी दिनमा पनि सँगै रहने विश्वास उनले दिलाएका छन् ।
देशको वर्तमान राजनैतिक परिस्थितिलाई संकेत गर्दै महामन्त्री कोइरालाले राजनीति एक खेल भएको तर प्रधानमन्त्रीले खेलको नियम उल्लंघन गरेको आरोप लगाएका छन् । ‘खेलमा पनि एउटा नियमको पालना गर्नुपर्छ । राजनीति पनि एक किसिमको खेल नै हो । यसमा पनि हामीले नियम पालना गर्नुपर्छ । ओलीजीको यो सरकारले कुनै नियम पालना गरेको छैन’, महामन्त्री कोइरालाले भने । उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भए पनि उनी अटेर बनेको आरोप लगाएका छन् । तर, ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनचासोविरीत भएको कुरा अदालतले पुष्टि गरेको उनको भनाइ छ ।