यङ्गोनः म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन एकसय भन्दा धेरै प्रदर्शनकारी मृत्यु भएको छ ।

नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली प्रहार गर्दा ११४ जनाको ज्यान गएको हो । हिजो सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर बच्चासहित ११४ जना मारिएको सिएनएनले जनाएको छ । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन् । गत फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिए यता म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएका छन् । प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकोबारे भने उनले केही खुलाएका छैनन् । तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाएका छन् । -एजेन्सी