धरानः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पश्चिमा संस्कृतिका कारण हाम्रो देशका मौलिक संस्कृति लोप हुँदै गइरहेको दाबी गरेका छन् ।
नेवाः साँस्कृतिक उत्थान मञ्च सुनसरीद्वारा सोमबार धरानमा आयोजित ‘माता पञ्चकुमारी नृत्य २०७५’ को उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् ।
पश्चिमा संस्कृतिले हाम्रो मौलिक संस्कृतिमाथि हस्तक्षेप गर्ने क्रम बढिरहेकाले हामीले चिन्ता गर्ने बेला आएको उनले बताए । ‘हाम्रा आमाहरूले लगाउने साडी चोलोको आयु अब कहिलेसम्म,’ उनले प्रश्न गरे, ‘हाम्रा नानी छोराछोरीहरूले पछ्याउँछन् कि पछ्याउँदैनन् ? यो हाम्रो सांस्कृतिक चुनौती हो ।’ विभिन्न विदेशी फेसनका कपडा लगाउने कारण हाम्रा मौलिक पहिरन ओझेलमा परेको उनको कथन थियो ।
रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालहरूका कारण हाम्रो संस्कृति धरापमा पर्ने अवस्था रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिक संस्कृति नै बिर्सिन नहुनेतर्फ उनले सचेत गराए । ‘समयअनुसार परिवर्तन हुनुपर्छ, तर, हामीले आफ्नो संस्कृति बिर्सिनु हुँदैन ।’ उनले भने, ‘यदि हामीले हामो संस्कृति बिर्सिदै गयौँ भने एक दिन आफ्नो पहिचान नै गुम्ने खतरा बढ्छ । यसतर्फ विचार गरौं ।’
हाम्रो देश बहुजातीय, बुहभाषिक, बहुसांस्कृतिक मुलुक रहेकाले यसको जगेर्ना गर्नेतर्फ सबै लाग्नुपर्ने उनले बताए । १ नम्बर प्रदेशमा मात्र १ सय ७ भाषा बोल्ने जातिको बसोबास रहेकाले यो नै आफूहरूको पहिचान रहेको उनले सुनाए । हरेक जातिका आफ्ना मौलिक संस्कृति रहेकाले यसको जगेर्नामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले नेवा सांस्कृतिक उत्थान मञ्चले विभिन्न लोक बाजाहरूको संरक्षण गर्ने अभियान थालेकोमा खुशी व्यक्त गरे ।
नेवाः देयः दबूः सुनसरीका अध्यक्ष तीर्थ मास्केले नेवार समुदायको विवाह पार्टीमा आफ्नो मौलिक बजाहरू बजाउनको लागि विभिन्न प्रशिक्षण दिने व्यवस्था गरिने बताए । कार्यक्रममा प्रदेश १ का सांसदहरू, नेवार समुदायका विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूको उपस्थिति थियो ।
नेवार सांस्कृतिक उत्थान मञ्चद्वारा कार्यक्रमको निरन्तरता
नेवार सांस्कृतिक उत्थान मञ्च सुनसरीले यस वर्ष पनि धरानमा माता पञ्चकुमारी नृत्य देखाएको छ ।
धरानको मुख्य चोक भानुचोकमा सोमबार दिउँसो नेवारी संस्कृतिमा आधारित उक्त नृत्य देखाइएको हो । महामन्जुश्री, कौमारी, काली, भैरव र बज्रयोगिनी माताको रूपमा नृत्य देखाइएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका थिए ।
धिमे बजा बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछि नेवार जातिको राष्ट्रिय गीत ‘खिउ चाः’ मा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । मञ्चका संस्थापक अध्यक्ष नवीन किशोर तमोटका अनुसार पञ्चकुमारी नृत्य विशेष गरेर हावा, पानी, आकाश, सूर्य र पृथ्वीबिना मानव जीवनको परिकल्पना गर्न नसकिने हुँदा पञ्च तत्वको शक्तिको लागि नेवार समुदायले माता पञ्चकुमारीलाई मान्ने प्रचलन रहिआएको छ । साथै, नेवारी संस्कृतिमा आधारित ३ सय वर्ष पुराना चर्या नृत्य र भैरव काली नृत्य समेत देखाइएको थियो ।
पूर्वी झापाको दक्षिणी भेगमा बसोबास गर्ने सतार जातिको मौलिक नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम संयोजक विश्वबन्धु ताम्राकारले बताए । कार्यक्रमबाट सञ्चित गरिएको केही रकम नेवारी सङ्ग्रहालय भवन (नेवाः छे)को निर्माणमा खर्च गरिने मञ्चका अध्यक्ष चन्द्र हलुवाइले बताए ।