विराटनगरः विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर उठाउन सक्ने आर्थिक नीति नेपाली काङ्ग्रेसले अवलम्बन गर्नुपर्ने सुझाव कार्यकर्ताले दिएका छन् । \
नेपाली काङ्ग्रेसले आगामी दिनका लागि तय गर्ने आर्थिक नीति बारेको सुझाव सङ्कलनका लागि विराटनगरमा आयोजित कार्यक्रममा कार्यकर्ताले तल्लोस्तरका जनतामुखी नीतिको माग गरेका हुन् ।
काङ्ग्रेसले पार्टीको तल्लोस्तरका नेता तथा कार्यकर्तादेखि शुभेच्छुक उद्योगी–व्यवसायीसँग सुझावका लागि आयोजना गरेको कार्यक्रममा गरिबी हटाउन सक्ने नीति जरुरी रहेको औँल्याइएको छ ।
आर्थिक नीतिबारे पहिलो पटक सुझाव
आर्थिक नीतिबारे तल्लो तहमा पहिलो पटक नेपाली काङ्ग्रेसले सुझाव सङ्कलन थालेको हो । पार्टीका सहमहामन्त्री तथा आर्थिक विधान मस्यौदा समितिका संयोजक प्रकाशशरण महतले जनतासँग जोडिएका कार्यकर्ताबाटै आर्थिक नीतिको सुझाव लिएर आगामी दिनमा काङ्ग्रेसले फड्को मार्ने दाबी गरे ।
उनका अनुसार देशका सातै प्रदेशमा आगामी आर्थिक नीतिको बारेमा सुझाव सङ्कलन गर्ने र त्यसैका आधारमा पार्टी अगाडि बढ्ने छ । विराटनगरमा भएको छलफलमा प्रदेशभरबाट जिल्लाका सभापति, विज्ञ तथा उद्योगी व्यापारीलाई सहभागी गराइएको थियो ।
सुझावमै आधारित आर्थिक नीति बनाउनका लागि कार्यकर्ताले समितिका संयोजकसामु आग्रह गरेका थिए । उद्योगी–व्यवासायीले भने उद्योगमैत्री वातावरण निर्माण गर्न सक्ने आर्थिक नीति बनाउनुपर्ने माग गरे । काङ्ग्रेसले पोखरा, बुटवल र विराटनगरमा सुझाव लिइसकेको महतले जानकारी दिए ।
कृषि, उद्योग, पर्यटन र सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर ग्रामीण बस्तीका जनतासँग काङ्ग्रेसले सामीप्यता गाँस्नुपर्ने जिल्ला सभापतिको जोड थियो । खोटाङका पार्टी सभापति सुभाष पोखरेलले जनतासँग पार्टी जोड्ने आर्थिक कार्यक्रमका लागि नीति आवश्यक रहेको सुझाव दिए ।
यसैगरी, पाँचथरका नरेन्द्र केरीले चुनावको समयमा गाउँमा फर्कँदा लाज नहुने विधि अपनाउन सक्ने नीति आवश्यक रहेको औंँल्याए ।
विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अभिनाश बोहरा, मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाले औद्योगिक वातावरणका लागि काङ्ग्रेसको नीति हुनुपर्ने बताए ।
प्रदेश १ स्तरीय छलफल विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ का १४ जिल्लाबाट काङ्ग्रेस सभापति, प्रदेश सांसदसहित केन्द्रीय नेतृत्वको सहभागिता थियो ।
छलफलमा पूर्वमन्त्री दीपक विष्ट, काङ्ग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा, अमृत अर्याल, डा. डिला सङ्ग्रौला, गुरुराज घिमिरेलगायतले आफ्ना विचार राखेका थिए ।