इटहरीः राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको वायु प्रदूषण र यसबाट जनस्वास्थ्यमा परिरहेको प्रतिकूल प्रभावप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी आयोगले नेपालको संविधानको धारा ३० द्वारा प्रत्याभूत स्वच्छ वातावरणमा बाँच्न पाउने हक, वातावरण संरक्षण ऐन २०५३ तथा सोही ऐन अन्तर्गतको वातावरण संरक्षण नियमावली २०५४, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनलगायतका राष्ट्रिय कानूनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको भन्दै वातावरणमा तत्काल सुधार ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता डा. टिकाराम पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, मानव स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन थालेको, प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेभन्दा अत्यन्तै खराब तहमा पुगेको, वायु गुणस्तर मापन सूचक (एक्यूआई) अनुसार गत आइतबार काठमाडौँको वायु गुणस्तर तीन सयभन्दा बढी मापन भएको जस्ता नकारात्मक तथ्यहरु औँल्याउँदै सुधारको लागि ध्यानाकर्षण गराइएको छ ।

नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणका लागि तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । गत शुक्रबारदेखि देशभर वायु प्रदूषण बढ्दै गइरहेको पृष्ठभूमिमा सरकारबाट समस्या समाधानका लागि कुनै ठोस प्रयास नभएपछि आयोगले ध्यानाकर्षण गराएको हो ।

NHRC