बेलायतमा २० लाख बढी न्युन आयका कामदारहरुको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ ।
‘नेस्नल लिभिङ वेज’ २.२ प्रतिशतले वृद्धि भएसँगै यो फुल टाइम काम गर्नेहरुको वार्षिक ३४५ पाउन्ड बराबर हुने भएको हो । यो नीति २३ र २४ वर्षीयाहरुमा पनि पहिलोपटक लागू हुने भएको छ । यसअघि २५ को उमेर माथिकामा मात्र यो लागू हुने गर्दथ्यो । त्यस्तै १८ देखि २२ बीचको उमेरकाहरु र साथै सिकारु कामदारहरुको आयमा पनि वृद्धि हुने बताइएको छ ।
मन्त्रीहरुका अनुसार यस न्युनतम पारिश्रमिक वृद्धिले विशेषगरी रिटेल, हस्पिटालिटी, सरसफाइ र व्यवस्थापनका क्षेत्रमा काम गर्ने कामदारहरुलाई फाइदा पुग्नेछ । प्रधानमन्त्री बोरिस जोन्सनले यो बेलायतभरिका परिवारका लागि स्वागतमय आर्थिक बढावा भएको बताएका छन् । व्यवसायिक सचिव क्वासि क्वारतेङले सबै कामदारहरुले आगामी दिनमा आफूले पाउनुपर्ने पर्याप्त तलब पाएको सुनिश्चित गर्न समेत आग्रह गरेका छन् र सबै कामदातालाई उचित पारिश्रमिक दिनु तिनको दायित्व भएको याद दिलाएका हुन् ।
१ अप्रिल देखि यस प्रकार लागू हुनेछ न्युनतम पारिश्रमिक वृद्धि ः
२३ वर्ष माथिका कामदारले प्रति घण्टाको ८.९१ पाउन्ड पाउनेछन् ।
२१–२२ का कामदारको पनि न्युनतम पारिश्रमिक वृद्धि भइ ८.३६ पाउन्ड पुगेको छ ।
१८ देखि २० वर्षकाहरुले अब न्युनतम प्रति घण्टा ६.५६ पाउन्ड प्राप्त गनेर्छन् ।
१८ मुनिकाहरुले पनि ४.६२ पाउन्ड पाउनेछन् र सिकारुका लागि पनि ४.३० पाउन्ड न्युनतम हुनुपर्ने हुन्छ ।
तर यो नीतिमा कामबाट अनुपस्थितहरुका लागि भने कुनै वृद्धि उल्लेख गरिएको छ । यस्तोमा विशेषगरी कोरोना महामारीका कारण काममा जान नसकेकाहरुले यसको फाइदा उठाउन नपाउने भएका छन् । फेब्रुअरीमा मात्र देशभरका ८ लाख बढी कम आयदर भएका कामदारहरु बिदामा रहेको तथ्यांकले देखाएको थियो । सरकारले अप्रिल १ देखि काममा फर्किएका त्यस्ता कामदारले चाहिँ नयाँ पारिश्रमिक वृद्धि प्राप्त गर्न सक्ने बताएको छ । -बीबीसीबाट