इटहरीः बिहान साढे ११ बजेदेखि १२ बजेसम्म बढेको नेपाली सेयर बजार दिनभर तलमाथि गरिरहे पनि दिउँसो साढे २ बजेपछि फेरि बढ्न पुगेको छ । नेप्सेमा झण्डै साढे ७ अङ्कको सुधार भएको छ ।

नेप्से सूचक मङ्गलबार ७ दशमलव ४३ अङ्कले बढेर १२२४ दशमलव ३६ अङ्कमा रोकिएको छ । समग्रमा बजार ० दशमलव ६१ प्रतिशतले बढेको हो । १ सय ६३ कम्पनीको २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँको ९ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका १० वटा समूहमध्ये ७ वटा समूह उकालो चढेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह ० दशमलव ८५ प्रतिशतले बढ्दा सबैभन्दा धेरै होटल समूह ० दशमलव ६९ प्रतिशतले घटेको छ ।

कारोबारमा प्रभु बैंक
कारोबार रकममा प्रभु बैैंकले अग्रता लिएको छ । प्रभुको १ करोड ८० लाख २३ हजार ८ सय ७ रुपैयाँको सेयर किनबेच हुँदा लाइफ इन्स्योरेन्स कम्पनी नेपालको १ करोड ७१ लाख ३५ हजार ७ सय ८० रुपैयाँको सेयर कारोबार भएको छ ।

मेगा बैंकको ८५ लाख ९२ हजार १ सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । उच्च कारोबार हुने १० कम्पनीमा दोस्रो र आठौं नम्बरमा बीमा कम्पनी छन् भने बाँकी सबै बैंक रहेका छन् । दशौं नम्बरमा रहेको एभरेष्ट बैंंकको ४९ लाख ६९ हजार ४ सय ५० रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल सेवाको सेयरमूल्यमा झण्डै १० प्रतिशतको वृद्धि
मङ्गलबार नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ८९ प्रतिशतका दरले सम्पत्ति कमाएका छन् । नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले ८ दशमलव ४० प्रतिशतले सम्पत्ति कमाउँदा मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतले कमाएका छन् ।

सम्पत्ति गुमाउनेमा हाइड्रोपावर
मङ्गलबार उच्च मूल्य गुमाउने ४ कम्पनीमध्ये ३ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । अपि पावरका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव ७४ प्रतिशतले सम्पत्ति गुमाउँदा रिडी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ६४ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् । हाथवे फाइनान्सका लगानीकर्ताले ३ दशमलव ३६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ३ दशमलव २७ प्रतिशतले सम्पत्ति गुमाएका छन् । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ६० अर्ब कायम भएको छ ।