नयाँदिल्लीः भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन्।

कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकिएको छ । नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन् । भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो । १० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ । १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ । यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो । २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो ।

यो पुल बनेपछि जम्मु–कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ । अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ । एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि बताएका छन् । ’यो निर्माण कार्य केवल अत्याधुनिक इन्जिनियरिङ र टेक्नोलोजीको क्षेत्रमा भारतको बढ्दो तागतको मात्र प्रदर्शन होइन, संकल्पबाट सिद्दी हुन्छ भन्ने देशको बदलिएको कार्य संस्कृतिको पनि उदाहरण हो,’ मोदीले ट्वीट गर्दै भनेका छन् । -एजेन्सी