इटहरीः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

दुई सय ६२ जना मतदाता रहको सुनसरीमा केन्द्रदेखि जिल्लासम्म जम्मा एक सय ४ उमेद्वारको लागि मतदान हुँदैछ । कुल एक सय १७ जनाको लागि मतदान गर्नुपर्ने भए पनि सुनसरीको हकमा भने १३ जना निविरोध निर्वाचित भएका थिए । बिहान ९ बजेदेखि बेलूका ५ बजेसम्मको निर्वाचनको मिति तय भएपनि सुनसरीमा भने झण्डै डेढ घण्टा ढिलो गरी मतदान सुरु भएको थियो । निर्वाचनको लागि सुनसरीमा इटहरी उपमहानगरपालिका ५ स्थित लायन्स क्लब भवनलाई मतदान केन्द्र तोकिएको छ । सुनसरीमा पहिलो मतदाताको रुपमा दिवस पोखरेलले मतदान गरेका थिए । मतदानपछि बोल्दै उनले केन्द्रदेखि जिल्लासम्म भोट दिनुपर्ने हुँदा लामो समय लागेको बताएका छन् ।

यो पटकको निर्वाचनमा केन्द्रदेखि जिल्लासम्म मतदान गर्न पाउनु सकरात्मक भए पनि केन्द्रमा उठेका उमेद्वारका विषयमा भने अध्ययन गर्न नपाएको उनको गुनासको छ । केन्द्रका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर राम्रो–नराम्रो छुट्याउन पाए अझै निर्वाचन प्रभावकारी र पत्रकारको हक हितमा काम गर्न सक्ने उमेद्वार छान्न पाउने उनको भनाइ छ । अर्की मतदाता एवम् पत्रकार सुभद्रा प्याकुरेलले केन्द्रदेखि जिल्ला सम्मका उमेद्वारका विषयमा अध्ययन गर्दा मतदानमा समय लागेको बताइन् । यसका साथै सुनसरीको हकमा बाघी उमेद्वार र अन्य आकांक्षीको संख्या बढी भएकाले मतदानमा समय लागेको उनको भनाइ छ । अर्का पत्रकार रामप्रसाद खरेलले मतपत्रमा चिह्न लगाउने समयमा भन्दा मतपेटिकामा मत लगाउँदा आफूलाई समस्या परेको बताए ।