लण्डनः बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ ।

फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् । उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन् । दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए ।

स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । ’यसबारे प्रतिक्रिया लिन खोज्दा दूतावासको फोन नउठेको र इमेलमा पनि जवाफ आएन,’ सिएनएनले भनेको छ । बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए । बेलायतको विदेश मन्त्रालयले म्यानमारी दूतावासमा भइरहेको घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारमा राजदूतले पनि सेनाले गरेको कूको विरोध गरेका थिए । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कूमार्फत् सत्ता हत्याएको थियो । त्यसपछि प्रजातन्त्र पुनर्वहालीका लागि भएका प्रदर्शनमा उसले निर्ममतापूर्वक दमन गरिरहेको छ । सैनिकको गोली लागेर अहिलेसम्म झन्डै ६ सय म्यानमारीको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन् । एजेन्सी