जाकार्ताः इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १८० पुगेको छ ।

बिहीबार जाकार्ताका सरकारी अधिकारीहरूले जनाएअनुसार बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको छ । बाढीबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले बिहीबार बिहान बताएका छन् । उनका अनुसार इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ । गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ । -रासस