इटहरीः सामान्यतया एउटा तीनकोठे पक्की भवन निर्माण गर्न कति खर्च लाग्ला ? सहजै अनुमान लगाउन सकिन्छ २० देखि २५ लाख ।

तर सुनसरीको इटहरी उपमहानगरपालिकाले उपमहानगरको वडा नम्बर ४ मा निर्माण गरेको वडास्तरीय स्वास्थ्य एकाई भवन भ्याटसहित ३२ लाख ४१ हजार एक सय ३९ रुपैयाँ ३९ पैसामा सम्झौता गरी निर्माण लगभग सम्पन्न गरेको छ । स्वास्थ्य एकाई भवन भ्याटबाहेक २८ लाख ६८ हजार दुई सय ६४ रुपैयाँ ९५ पैसामा निर्माण सम्पन्न हुने निर्माणस्थलमा राखिएको सूचना पाटीमा उल्लेख छ । इन्जिनियर सुमन श्रेष्ठ पनि माथिको भनाइमा सहमत हुँदै भन्छन्, ‘ ७१ दशमलव ५५ वर्गमिटरको भवन निर्माण गर्न हालको बजार दरभाउ अनुसार बढीमा २४ लाख ६३ हजार ६ सय नौ रुपैयाँ लागतमा निर्माण सम्पन्न हुन्छ ।’ उनले दिएको लागत स्टिमेट अनुसार भ्याटसहित सो भवन निर्माण गर्न २७ लाख ८३ हजार आठ सय ७८ रुपैयाँ लागत पर्न आउँछ । तर संघीय सरकारको अनुदान बजेटमा उपमहानगरपालिकाले निर्माण गरेको सो भवनको निर्माण लागत अत्यन्तै बढी भएको र भवनसमेत सानो आकारको निर्माण गरेर बजेटमा भ्रष्टाचार गर्न खोजिएको भन्दै सामाजिक सञ्जालमा स्थानीय सरकारको चर्को आलोचना भएको छ ।

ठेकेदार कम्पनी एमएस डीआरए कन्स्ट्रक्सन सुन्दरहरैँचा ५ मोरङ र इटहरी उपमहानगरपालिकाबीच २०७७ असार २२ गते सम्झौता भई निर्माण भएको भवनका तीन कोठाहरुमध्ये एउटा कोठा अत्यन्तै सानो आकारको स्टोर कोठाका रुपमा प्रयोग गर्न मिल्ने ढाँचामा निर्माण गरिएको सर्वसाधारणको गुनासो छ । दुई ओटा कोठा, एउटा स्टोर र एउटा शौचालय बनाउन भ्याटबाहेक २८ लाखभन्दा बढी खर्च हुनु स्वभाविक नभएको उनीहरुको कथन छ ।

swasthya bhawan2

भवन निर्माणको काममा सरकारको प्रतिनिधित्व गर्दै सम्झौतामा हस्ताक्षर गरेको उपमहानगरपालिकाले भने निर्माणको काम विधिसम्मत रुपमै भएको जिकिर गरेको छ । उपमहानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर जीवन घिमिरेले संघीय सरकारको अनुदान बजेटबाट भवन निर्माण गरिएको जानकारी दिए । उनका अनुसार भवनको निर्माण पूर्ण रुपमा सम्पन्न नभएकाले खर्चको अन्तिम मूल्याङ्कन पनि हुन सकेको छैन । संघीय सरकारको लगानी र संघीय सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डिजाइन अनुसार देशैभर एकै किसिमको भवन निर्माण भएकाले यसको डिजाइन र लागत अनुमान आफूहरुको पकडमा नभएको इन्जिनियर घिमिरेको भनाइ छ । नेपाल सरकारको मापदण्ड र दररेट अनुसार नै रेट स्टिमेट तयार भई काम गरिएको उनले प्रष्ट पारे । निर्माणको काम गर्दै जाँदा लागतमा केही घटबढ हुनुु सामान्य भएको उनको तर्क थियो ।

यता, सो योजना निर्माणको अनुगमनका लागि गठित समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमले भने हालसम्म आफूले योजनाको अनुगमन नै नगरेको बताइन् । योजना सम्पन्न भइसकेपछि अन्तिम अवस्थामा अनुगमन गरी सोको सामूहिक मूल्याङ्कनका आधारमा योजनाको भुक्तानी फर्छ्रयौट गरिने उनको भनाइ छ ।

samjhauta patra.

गत वर्ष निर्माण सम्पन्न भएको बगैँचा टोल विकास संस्थाको कार्यालय भवन भ्याटबाहेक ३० लाख रुपैयाँ अर्थात् भ्याटसहित ३३ लाख ९० हजार रुपैयाँको लागतमा सम्पन्न भएको संस्थाका अध्यक्ष सुनिल पोख्रेलले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत् निर्माण सम्पन्न गरिएको सो भवनमा २० प्रतिशत लगानी सर्वसाधारण नागरिकको रहेको छ । अढाइ तले सो भवनमा ग्राउन्ड फ्लोरमा एउटा हल, ट्वाइलेट, बाथरुमका साथै ग्राउन्डमा टाली लगाइएको, माथिल्लो तलामा दुई ओटा कोठा, एउटा हल र ट्वाइलेट बाथरुम निर्माण गरी टाली लगाई कलर पुटिङसमेत गरिएको र त्यसभन्दा माथिल्लो तलामा पनि एउटा कोठा निर्माण गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । उपमहानगरपालिकाले भने उपभोक्ता समितिले स्थानीय दररेटमा निर्माण गर्ने र सरकारले निर्माण गर्दा जिल्लाको दररेट लागु हुने हुँदा लागत फरक पर्ने जिकिर गरेको छ ।

swasthya  bhawan1

नेपालको संविधानको धारा २७ र सूचनाको अधिकार ऐन २०६४ बमोजिम सूचना माग गर्दै निवेदन दर्ता भएपछि उपमहानगरपालिकाले प्रदेश पोर्टललाई उपलब्ध गराएको स्वास्थ्य एकाई भवन निर्माणको लागत सारांश (समरी अफ कस्ट) अनुसार भवन निर्माणका क्रममा तीन हजार रुपैयाँको डिस्प्ले बोर्ड खरिद गरिएको छ । यसैगरी, कार्यसम्पादनका लागि खटिएका मजदुरलगायतका जनशक्तिलाई २८ लाख ७४ हजार एक सय १९ रुपैयाँ ९२ पैसा भुक्तान गरिएको छ । यसैगरी, ठेकेदार कम्पनीले सेप्टिक ट्याङ्क निर्माणका लागि दुई लाख १२ हजार नौ सय ७१ रुपैयाँ ३५ पैसा खर्च गरेको छ । यसैगरी, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यका लागि एक लाख १८ हजार तीन सय ८६ रुपैयाँ ८९ पैसा खर्च गरेको छ । यसैगरी, भवनको विद्युतीकरणको लागि ७८ हजार आठ सय २७ रुपैयाँ ५९ पैसा खर्च गरेको छ ।

यसैगरी, भवनको बिमाबापत २५ हजार रुपैयाँ खर्च भएको देखिन्छ भने ल्याब परीक्षणको कार्यमा ६० हजार रुपैयाँ सकिएको छ । यसेैगरी, भैपरी आउने शीर्षकमा ६७ हजार चार सय ४६ रुपैयाँ ११ पैसा खर्च भएको देखाइएको छ । यसैगरी, १३ प्रतिशत भ्याटबापत चार लाख ४७ हजार एक सय ६७ रुपैयाँ ७४ पैसा खर्च भएको देखिन्छ । यस प्रकार भवन निर्माण सम्पन्न हुँदासम्म ३८ लाख ८६ हजार नौ सय १९ रुपैयाँ ५९ पैसा खर्च भइसकेको उपमहानगरपालिकाको तथ्याङ्कले देखाएको छ । ७१ दशमलव ५५ वर्गमिटर क्षेत्रको भवन निर्माणमा प्रतिवर्र्गमिटर ४७ हजार एक सय ३२ रुपैयाँ १६ पैसा र प्रतिवर्गफिट चार हजार तीन सय ८० रुपैयाँ ३१ पैसा लागत परेको विवरण उपमहानगरपालिकाले प्रदेश पोर्टललाई दिएको छ ।