शांघाईः चिनियाँ नियामक निकायले ई–कमर्सको क्षेत्रमा विश्व चर्चित कम्पनी अलिबाबामाथि दुई अर्ब ७८ करोड डलर जरिवाना गरेको छ ।

एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो । चीनको नियामक निकाय बजार नियमनसम्बन्धी राज्य प्रशासन (एसएएमआर)ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नुपरेको निष्कर्ष सार्वजनिक गरेको छ । अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौँ व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाइ छ । एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिने गरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको एवं व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लंघन गरिदिएको नियामक निकायले जनाएको छ । ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो ।

सन् २०१५ मा क्वालकममाथि झन्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो । अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कुल बिक्रीको करिब ४ प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो । अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना बुझाउन राजी भएको जनाएको छ । साथै, कम्पनीले सरकारका नियमहरु पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरुमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन सुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो । आजभोलि चीनका करोडौँ नागरिक चिनियाँ प्रविधि कम्पनीहरुको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकापसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् । तर, अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो ।

गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक माले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तीव्र बनाइएको थियो । अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको सेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अवरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए । ई–कमर्स क्षेत्रका विशाल कम्पनीहरु अलिबाबा र जेडी डटकम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव सिर्जना गरिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबासमेतका चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट राम्रै फाइदा लिइरहेका छन् । चिनियाँ कम्पनीहरुले उपभोक्ताका निजी विवरण संग्रह गरेको भनेर विवाद उत्पन्न भइरहेका समयमा अमेरिकी ठूला प्रविधि कम्पनीहरु फेसबुक, गुगलमाथि पनि देशभित्र र बाहिर छानबिन र अनुसन्धान जारी छन् । -रासस\एएफपी