अमेरिकाले रूसमाथि ‘साइबर हमला’ लगायत अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकाले घोषणा गरेको प्रतिबन्धले रूसका दर्जनौं संस्था र अधिकारीहरूलाई निसानामा पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ह्वाइटहाउसले प्रतिबन्धको उद्देश्य रूसको हानिकारक वैदेशिक गतिविधिहरु रोक्न रहेको बताएको छ । ह्वाइटहाउसले जारी गरेको वक्तव्यमा गत वर्षको ठूलो ‘सोलारविन्डस्’ ह्याकिङमा रूसी जासुसको हात रहेको दाबी गरिएको छ । त्यस्तै‚ २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप लगाइएको छ । यद्यपि‚ रूसले ती आरोप अस्वीकार गर्दै छिट्टै त्यसको प्रतिउत्तर दिने बताएको छ । हिजो घोषित प्रतिबन्धको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एक कार्यकारी आदेशमा उल्लेख छ ।

अमेरिकाको यो कदमपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा पुग्ने आँकलन गरिएको छ । गत महिना मात्रै क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रूसी अधिकारी र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको थियो । प्रतिबन्ध घोषणा भएलगत्तै रूसी विदेश मन्त्रालयले त्यसलाई ’खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम’ भनेको छ । रूसी विदेश मन्त्रालयले मस्कोस्थित अमेरिकी दूतलाई बोलाएको छ । युरोपेली संघ, नेटो र बेलायतले पनि अमेरिकी प्रतिबन्धको समर्थनमा वक्तव्य निकालेका छन् । -एजेन्सी