विराटनगरः एक नम्बर प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बठकले प्रदेश योजना आयोग गठन गर्ने लगायतका विभिन्न १२ वटा निर्णय गरेको छ ।

बैठकले आयोगको गठन आदेश पास गर्दै उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नम्बर एकको सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको कुनै एउटा शहर र पाँचथरको फिदिमलाई नयाँ शहरको रूपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि सङ्घीय सरकारबाट १७ करोड रुपैयाँ विनियोजित भइसकेको छ ।

यसैगरी, मन्त्री परिषद बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । यसैगरी, संविधानसँग बाझिने सरकारी कार्यालयका नामलाई १५ दिनभित्र परिमार्जन गर्ने तथा कोशी प्रतिष्ठान विधेयक मस्यौदामाथि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले प्रदेश विकास स्वयम्सेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृति प्रदान गर्ने तथा झापाको दमकमा रहेको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने मन्त्री परिषद्ले निर्णय गरेको मन्त्री कार्कीले बताए ।