औडीले बुधबार आफ्नो सबैभन्दा सस्तो विद्युतीय कारको मोडल, नयाँ ‘क्युफोर इ–ट्रन इलेक्ट्रिक एसयुभी’ सार्वजनिक गरेको छ । यसको मूल्य ४५ हजार डलरबाट सुरु हुने बताइएको छ ।

अमेरिकाको ट्याक्स क्रेडिट अन्र्तगत यसको सस्तो भर्जनको कूल ३७ हजार ५०० डलर पर्न सक्ने बताइएको छ । यो भनेको टेस्लाको ‘मोडल ३ सेडान’ भन्दा केही थोरै मूल्य हो र टेस्लाकै ‘मोडल वाइ एसयुभी’ भन्दा चाहिँ धेरै सस्तो हो । पछिल्लो समय थुप्रै लक्जरी विद्युतीय कारहरु बजारमा प्रवेश गरिरहेका छन् । तर ती मध्येमा पनि क्युफोर को मूल्य जतिमा एकदम थोरै मात्र उपलब्ध छन् । यसको मूल्य फोर्ड मुस्ताङ मेक–इ समान रहेको छ ।

औडीले आफ्ना नयाँ एसयुभीको महङ्गा भर्जनको मूल्यबारे भने खुलासा गरेको छैन । यसबारे विस्तृत जानकारी ‘क्युफोर इ–ट्रन’ वर्षको अन्त्यसम्म विक्रीमा गएपछि मात्र सार्वजानिक गरिने बताइएको छ ।

क्युफोर इ–ट्रन गाडीमा ‘अल–ह्वील ड्राइभ’ नभएर ‘रियर–ह्वील ड्राइभ’ हुनेछ । महङ्गा भर्जनमा मात्र अल–ह्वील ड्राइभ राखिनेछ ।

त्यस्तै कम महङ्गा मोडल एकपटकको चार्ज पछि ४०२.३३ किलोमिटर सम्म यात्रा गर्न सक्ने ब्रान्डले जनाएको छ । यो मोडलको विद्युतीय मोटरले अधिकतम ‘२०१ हर्सपावर सम्मको आउटपुट’ ऊर्जा दिन सक्नेछ । महङ्गा भर्जनमा चाहिँ विद्युतीय मोटर अगाडि र पछाडि दुवैतर्फ हुनेछ र २९५ हर्सपावरसम्मको ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ ।

क्युफोर इ–ट्रन गाडी दुई फरक आकारमा उपलब्ध हुनेछ । एउटा नियमित ‘क्रसओभर एययुभी’ र अर्को चाहिँ ‘स्पोर्टब्याक’ भर्जनमा । स्पोर्टब्याक अल–ह्वील–ड्राइभमा मात्र उपलब्ध हुनेछ र यसको आकृतिले ‘एरोडाइनामिक्स’ मा पनि केही सुधार ल्याउने बताइएको छ ।

बाहिरबाट हेर्दा क्युफोर इ–ट्रन औडीकै अर्को मोडल, ‘क्युथ्री’ भन्दा केही ठूलो देखिनेछ । तर यसको भित्री ठाउँ चाहिँ ठूलो औडी क्यु५ जत्तिकै भव्य रहेको छ । ग्यासबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीहरुमा केही ठूलै ठाउँ हुने गर्दछ ।

‘टचस्क्रिन र डिजिटल डिस्प्ले’ बाहेक क्युफोर इ–ट्रनमा वैकल्पिक एआर डिस्प्ले पनि प्रदान गरिनेछ । त्यसबाट सडक र बाहिरी दृश्य वास्तविक दुनियाँ जस्तै हुबहु देख्न सकिनेछ । अन्य साधारण गाडी भन्दा फरक क्युफोर इ–ट्रनका चालकले दिउँसोको समयमा चार फरक प्याटर्नका लाइटहरु छनोट गर्न पाउनेछन् । औडीको यो नयाँ मोडल विद्युतीय कार बजारमा प्रमुख प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ । -सीएनएनबाट