हलिउड सेलिब्रेटी कान्ये वेस्टले सार्वजानिक रुपमा लगाएको यिजीको सबैभन्दा पहिलो जुत्ता अहिले १० लाख डलर भन्दा बढीमा बिक्री हुन लागिरहेको छ । यसलाई बजारमा उपलब्ध विश्वकै सबैभन्दा महङ्गो ‘स्नीकर्स’ जुत्ताका रुपमा सोथबाइको लिलाम घरले उल्लेख गरेको छ । यही लिलामघरले यसको बिक्री सम्बन्धी व्यवस्थापन गरिरहेको छ ।

‘नाइक एयर यिजी १ प्रोटोटाइप्स’ नामको यो जुत्ता अमेरिकी र्यापर वेस्टले २००८ को ५० औँ वार्षिक ग्रामी अवार्डमा लगाएका थिए । यस सम्बन्धी जारी गरिएको प्रेस विज्ञप्तिमा यो जुत्तालाई विश्वमै सबैभन्दा बढी खोजिएको लोकप्रिय अनि दुर्लभ जुत्ता भनेर व्याख्या गरिएको छ । र यसै महिनाको अन्त्यसम्म हङकङस्थित निजी बिक्रीका लागि प्रदर्शनमा राखिने उल्लेख गरिएको छ । साथबाइले अहिले यसको निश्चित मूल्यबारे खुलासा गरेको छैन तर यसको भाउ १० लाख डलर बढी तोकिएको छ ।

अहिलेसम्म कुनै पनि स्नीकर्स निजी रुपमा बिक्री भएको रेकर्ड छैन । त्यसैले पनि सात अङ्कको यसको मूल्यले हालसम्म कायम जुत्ता लिलामीको सबै रेकर्ड तोड्नेछ । यसअघि बास्केटबल खेलाडी माइकल जोर्डानले १९८५ मा लगाएको अटोग्राफसहितको ‘नाइक एयर जोर्डान’ को ६ लाख १५ हजार डलरमा बिक्री भएको जुत्ताले सो रेकर्ड कायम गरेको थियो ।
यो जुत्ता अहिलेका लागि गायक वेस्टकै साइज–१२ मा आउने बताइएको छ । कान्येले त्यस समय ग्रामिजमा यो जुत्ता लगाउँदा यसबारे स्नीकर्स प्रेमी र फ्यानहरुमा अत्याधिक चर्चा भएको थियो । तर पनि त्यो कहिल्यै बजारमा सार्वजानिक भएको थिएन । २०१७ मा यसको एउटा जोडीलाई ‘कलेक्टेबल स्नीकर रिटेलर फाइट क्लब’ ले सेलमा राखेको थियो र १ लाख डलरमा बिक्री पनि भएको थियो । -सीएनएनबाट