इनरुवाः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिमहरू नेपाली काङ्ग्रेसको मेरुदण्ड रहेको बताएका छन् । नेपाल मुस्लिम सङ्घको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सुनसरीको इनरुवामा सम्बोधन गर्दै कार्कीले मुस्लिमबिना काङ्ग्रेस अधुरो हुने बताएका हुन् ।

अधिकांश मुस्लिमहरू लोकतन्त्रको पक्षपाती भएको र काङ्ग्रेसमा आबद्ध भएको उनको भनाइ थियो । उनले इनरुवा आफ्नै निर्वाचन क्षेत्र भएकाले इनरुवाको विकासमा अनवरत लागिपर्ने बताए । आफू मुस्लिम समुदायकै मतबाट निर्वाचित भएकाले मुस्लिमहरूको हितमा हरहमेसा लागिपर्ने उनको भनाइ थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुस्लिमहरूकै कारण काङ्ग्रेसले सुनसरीमा सफलता पाएको बताए । साथै मुस्लिमहरूको अधिकारलाई सुनिश्चित गर्न प्रदेश सभाबाट आफूले पहल गर्ने उनले बताए ।