हलिवुड अभिनेत्री श्यारोन स्टोनले हालै सन् १९९२ को चलचित्र बेसिक इन्स्टिङ्टको विवादास्पद एक दृश्यमा आफूलाई भित्री वस्त्र फुकाल्न छल गरिएको बताएकी छन् ।

हालै प्रकाशित पुस्तकमा उनले आफूलाई आफ्नो भित्री वस्त्रले प्रकाश मिलाउन अप्ठेरो परेकोले सो फुकाल्न निर्देशन दिँदा दर्शकले ’केही नदेख्ने’ बताइएको लेखेकी छन् ।

तर प्रहरीले सोधपुछ गरिरहँदा उनले आफ्नो खुट्टा फाटेको सो दृश्यमा पछि उनले र सारा विश्वले धेरै कुरा देखिएको थाहा पाए ।

निर्देशन पल भेरहोभेनले स्टोनको दाबीलाई गलत भनेको छन् र उनलाई के गरिरहेछु भन्ने थाहा भएको बताउँदै उनले ढाँटेको बताएका छन् ।

तर स्टोनले जे भयो त्यसले आफूलाई मर्माहत गरेको बताएकी छन् ।

के यस्तो अवस्था नआउन दिन सकिन्थ्यो ?

“सजिलै,“ भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी अन्तरङ्ग संयोजक आस्था खन्ना भन्छिन् । “म त्यहाँ भएको भए उनलाई छालाको रङ्गको भित्री वस्त्र लगाउन दिन्थेँ ।”

तर बेसिक इन्स्टिङ्टको दृश्याङ्कन गरिने सन् १९९० को दशकमा कलाकारलाई नग्न वा यौन दृश्यको बेला सहजीकरण गर्ने अन्तरङ्ग संयोजक भन्ने सुनिएको पनि थिएन ।

तर सन् २०१७ को मीटू अभियानले चलचित्र उद्योगमा हुने यौन उत्पीडनका घटनालाई उजागर गरिदिए पछि आत्मीयता संयोजकको खोजी ह्वात्तै बढेको छ ।

सन् २०१८ मा एचबीओले पहिलो पटक अन्तरङ्ग संयोजक राखेपछि नेटफ्लीक्स र अमेजनले पनि त्यसै गरे। विगतका महिनामा यो चलन भारत पनि आइपुगेको छ ।

छब्बीस वर्षीया खन्नाका अनुसार यौन दृश्यमा आवश्यक यो कार्य द्वन्द्व निर्देशक वा नृत्य निर्देशकसँग तुलना गर्न मिल्छ ।

“जसरी द्वन्द्व निर्देशकले द्वन्द्वका दृश्यहरूलाई सुरक्षित बनाउँछन्, अन्तरङ्ग संयोजकले त्यसैगरी यौन, नग्नता वा यौन हिंसा भएका दृश्यहरूलाई सुरक्षित बनाउँछन्,” खन्नाले मुम्बईबाट भनिन् ।

bbc2

उनका अनुसार अन्तरङ्ग संयोजकले निर्देशक र कलाकारबीच पुलको कार्य गर्छन् ।

“मेरो कार्य कुनै पनि कलाकार उत्पीडनमा पर्न नपरोस् भनेर निश्चित गर्ने र निर्माताको पनि सुरक्षा गर्ने हो ताकि कोही कलाकारले पाँच वर्षपछि आफूलाई नराम्रो अनुभव भएको भन्न नसकून् ।”

कलाकारहरूसँग खन्नाले सहमति र सीमाको कुरा गर्छिन्; र छायाङ्कनको समयमा वस्त्र र सामानहरूको व्यवस्था गर्छिन् ।

उनको झोलामा यौनाङ्ग बचाउने सामान, वक्षस्थल छोप्ने सामान, टेपहरू र यौन दृश्यमा कलाकारका यौनाङ्गहरू छुन नदिने डुनोट तकिया हुन्छ ।

अस्कर्स विजेता छोटो चलचित्रकी निर्मात्री मन्दाकिनी ककरले आफ्नो आगामी चलचित्रका लागि खन्नालाई अनुबन्ध गरेकी छन् ।

आत्मीयतामा आधारित चलचित्र निर्माणको क्रममा रहेकी उनले मूलधारका भारतीय चलचित्रले पारिवारिक चलचित्र नहुने भन्दै चुम्बनसहित अन्य यौन र नग्नतालाई देखाउने धेरै रहर गरेका थिएनन् ।

कडा सरकारी नियम र सेन्सर बोर्डको आँखाका कारण भारतीय चलचित्रहरूमा यौन दर्साउन दुई फूल जोडिएको वा चराहरूको चुम्बन, व्यक्तिको यौनेच्छा देखाउन दुई उम्लेको दृश्य र यौन कार्य दर्साउन भताभुङ्ग तन्ना देखाउने गरिएको थियो ।

गत एक या दुई दशकमा चलचित्रमा चुम्बन सामान्य बन्दै गएको थियो । तर अहिले इन्टरनेटमा आधारित चलचित्रहरूको माग बढ्दै गएको अवस्थामा भारतीय चलचित्रमा यौन र नग्नता देखिन थालेको छ ।

तर विशेषगरी नयाँ महिला कलाकारका लागि आत्मीय यौन दृश्यहरू गर्न गाह्रो हुने र उनीहरूलाई उत्पीडन हुनसक्ने अवस्था रहन्छ ।

bbc3

अभिनेत्री अञ्जली सिभारमनको अनुभवमा अन्तरङ्ग संयोजकको उपस्थितिले उनलाई सहज बनाएको छ ।

हालै नेटफ्लीक्सका लागि इलाइट शृङ्खलामा अभिनय सुरु गरेकी अभिनेत्री अञ्जली सिभारमनको अनुभवमा खन्नाको उपस्थितिले उनलाई सहज बनाएको छ ।

“मेरो बारेमा सोच्ने कोही छ भनेर मलाई सहज लाग्छ,“ उनले भनिन् ।

“मैले भर्खरै भेटेको अभिनेतासँग यसअघि कहिल्यै नगरेको यौनको दृश्य गर्नुपर्ने थियो । मैले भित्री वस्त्रहरू मात्रै लगाएकोले म नग्न झैँ महसुस गरिरहेकी थिएँ र डराएकी थिएँ ।”

“अपरिचित अभिनेतालाई चुम्बन गर्ने कुराले पनि मलाई तनाव दिएको थियो । र यो कुरा निर्देशकलाई भन्न सहज थिएन, विशेषगरी उनी पुरुष भएका कारणले ।”

“तर आस्थाले सबै सहज बनाइदिइन् । मेरो कुरा निर्देशकलाई भनिन् र चुम्बनको दृश्य हट्यो । यौनको दृश्यमा उनले हामीबीच डुनोट तकिया राखिदिइन् जसले हाम्रो यौनाङ्गले एक अर्कालाई छोएन । अलि अनौठो थियो र उनी त्यहाँ भएकोमा म खुसी छु ।”

बलिवुडकी अभिनेत्रीबाट निर्मात्री बनेकी पूजा भट्ट आफ्नो जमानामा अभिनेत्रीहरू आमा वा व्यवस्थापकका साथ छायाङ्कनमा जाने र उनीहरूले नै आत्मीयता संयोजकको जस्तो काम गरिदिने गरेको अनुभव सुनाउँछिन् ।

उनले आफूले चलचित्र बनाउँदा आफ्नो अनुभवको आधारमा अन्तरङ्ग संयोजकको जस्तो काम गरेको बताइन् ।

“त्यस्ता दृश्यका लागि म आफैँ छानेका सहयोगीहरू मात्रै छायाङ्कनमा राख्थेँ किनभने मानिसले कसरी हेर्छन् भन्ने कुराले फरक पार्छ । सन् २००२ मा जिस्म चलचित्र बनाउँदा मैले बिपाशा वासुलाई एउटा अभिनेत्री र महिलाको रूपमा म अप्ठेरो लागेको कुनै दृश्य नबनाउने वाचा गरेकी थिएँ ।”

“चलचित्रमा नग्नता थिएन तर यो यौनको विषयको चलचित्र थियो । उनले जोन अब्राहमलाई यौनजालमा पार्नुपर्थ्यो त्यसैले मैले उनलाई जति गर्न मन लाग्छ त्यति मात्रै गर तर विश्वास लाग्ने देखिनेगरी गर भनेँ ।”

bbc4

पूजा भट्टले बम्बे बेगम्समा निर्देशक अलाङ्क्रिता श्रीवास्तवले आफूलाई सहज बनाएको बताइन् ।

हालै बम्बे बेगम्स नामक नेटफ्लीक्स शृङ्खलामा देखिएको उनले छायाङ्कनमा अन्तरङ्ग संयोजक नभएको तर निर्देशक अलाङ्क्रिता श्रीवास्तवले आफूलाई सहज बनाएको बताइन् ।

तर उनले अन्तरङ्ग संयोजकले धेरै सहज बनाउने कुरा भने स्वीकारिन् ।

“निर्माताहरूले छायाङ्कनमा अन्तरङ्ग संयोजक राख्ने माग गर्नु स्वागतयोग्य हो‘ यो अघिल्लो समयको तुलनामा ठूलो परिवर्तन हो ।”

खन्नाको अनुभवमा उनी सधैँ छायाङ्कन स्थलमा स्वागत पाउँदिनन् ।

यसको कारण अन्तरङ्ग संयोजक राख्नु भनेको थप खर्च हो । तर त्योभन्दा ठूलो कलाकारहरूले आफूलाई विश्वास नगर्ने र निर्देशन एवम् निर्माताले आफ्नो काममा अड्चन ल्याउने सोचले उनलाई स्वागत गरिन्न ।

“एक निर्देशकले मलाई आफूले सबै कलाकारलाई राम्ररी चिनेको र उनीहरूको परिवारको स्वीकृति लिएको बताउँदै मेरो आवश्यकता नपर्ने बताए ।”

“उनले मलाई छायाङ्कनस्थलमा रोक्न सकेनन् किनभने चलचित्र वितरकले मलाई राख्न सुझाव दिएको र निर्माताले मलाई काम दिएका थिए । त्यसैले मलाई उनले छायाङ्कन स्थलमा त लगे तर छायाङ्कन अवधिभरि गाडीमा राखे ।”

“उनीहरूले बुझ्नुपर्ने कुरा के छ भने यदि कथामा चक्कु छ भने द्वन्द्व निर्देशक चाहिएजस्तै कथामा यौन छ भने म चाहिन्छ ।”

भट्ट यो कुरालाई अचम्म मान्दिनन् किनभने भारतीय चलचित्र निर्देशकहरू आफ्नै तरिकाले काम गर्ने वा गर्दै नगर्ने भन्ने हिसाबले अनुभव बटुलेका छन् । तर उनीहरू समयसापेक्ष रहने हो भने परिवर्तन हुनुपर्ने भट्टको भनाइ छ ।

“परिवर्तन भइरहेछ, तर बिस्तारै । चलचित्र उद्योगमा केही परिवर्तन हुन नचाहने मूर्ख, लाज पचेका र पश्चवर्ती मानिस छन् । तर शक्तिशाली व्यक्तिलाई नरुच्ने भए पनि यस्ता कुरामा हामी एक अर्काको समर्थनमा उभिनुपर्छ र एक अर्काको समर्थन लिनुपर्छ ।” -बीबीसीबाट