इटहरीः नेपाली गीतकार डा. डी. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् ।

विभिन्न फरक फरक शैलीका गीत,संगीत तयार गरेर उनले विश्वका तीन दर्जनभन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् । यसअघि विभिन्न ३२ विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न रेकर्ड बनाएका डा. डी.आर.ले फेरि गीत संगीतसम्बन्धी थप १९ वटा विधामा नयाँ रेकर्ड हिजो सोमबार बनाएर ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका हुन् । उनले यस पटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड र दुबई वल्र्ड ट्यालेन्ट बुकमा १९ फरक विधामा विश्व किर्तिमानी बनाएका हुन् ।

IMG_2708

हिजो सोमबार राजधानीमा एक समारोहबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे । यस पटक उनले एक सय ५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीत संगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, एक सय ७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३६ मध्ये ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् । यस्तै ५५ वटा फरक फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत बनाई रेकर्ड गरेर उनले नयाँ किर्तीमानी बनाएका हुन् । यस्तै, आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकारात्मक सोचका फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् ।

विश्व रकेर्ड प्रमाणपत्र प्रदान गरिने सो कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए । सो कार्यक्रममा उपाध्यायको विश्व किर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकापर्ण गरे । कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री चन्दले यसरी गीत संगीतसम्बन्धी ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्य जति प्रसंसा गर्दा पनि कमै हुने भनाइ पूर्वप्रधानमन्त्री चन्दको थियो । पूर्वमन्त्री रामेश्वर राय यादवले पनि आफ्ना स्कुले साथी एवम गीतकार साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा अर्का वक्ता डा. सुरेन्द्र केसीले राज्यले भ्रस्ट फटाहाहरुलाई तक्मा बाँडेको बेला एक नेपाली श्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यंग्य भएको बताए । उनले आफ्ना किर्ति र विश्व रकेर्डमार्फत् नेपाली र नेपाली संगीतलाई विश्वमाझ पुर्याएको पनि डा.केसीले बताए । श्रष्टा डा.डी. आर. उपाध्यायले हामी नेपालीहरु पनि साहित्य तथा गीत संगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफूले यस्तो रेकर्ड बनाएको बताए ।