अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहमा सफलतापूर्वक सानो हेलिकोप्टर (ड्रोन) उडाएको छ ।

‘इनजेन्युटी’ नाम दिइएको उक्त ड्रोन एक मिने भन्दा कम समय उडे पनि यसलाई ठूलो उपलब्धि मानिएको छ । “अब हामी मानिसले अर्को ग्रहमा पनि हेलिकोप्टर उडाएको छ भन्न सक्छौँ,” नासाको जेट प्रोपल्सन ल्याब्रोटरीको इनज्युनिटी परियोजनाका प्रबन्धक मिमी आङले भने, “लामो समयदेखि हामी मंगल ग्रहमा ‘राइट दाजुभाइको आविष्कार’का विषयमा कुरा गरिरहेका थियौँ, जुन आज पूरा भएको छ ।” सन् १९०३ मा विलबर र ओरबिल राइट दाजुभाइले पृथ्वीमा पहिलोपटक हेलिकोप्टर उडाएको प्रसंगसँग मंगल ग्रहमा उडाइएको ड्रोनलाई तुलना गरिएको छ । उक्त ड्रोन उडेको नासाका वैज्ञानिकहरुले पृथ्वीबाट प्रत्यक्ष अवलोकन गरेका थिए ।

ड्रोन तीन मिटर उचाइमा करिब ४० सेकेन्डसम्म उडेको थियो । नासाले आगामी दिनमा अझै रोमान्चक उडान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त ड्रोनलाई थप उचाइ र बढी समय उडाउने विषयमा इन्जिनियरहरु केन्द्रित हुनेछन् । मंगल ग्रहमा वायुमण्डल निकै पातलो भएकाले यो कार्यलाई प्रविधिको सीमाको परीक्षण मानिएको छ । उक्त ड्रोनलाई गत फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको पर्सिभेरेन्स रोभरमा राखेर पठाइएको थियो । -बीबीसीबाट