इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका ५ मा सडक विस्तारका लागि नगरपालिकाले परिचालन गरेको डोजरमाथि स्थानीयले तोडफोड र आगजनी गरेका छन् ।

गत वैशाख ४ गते सडक विस्तारका लागि पुगेको डोजरमाथि सडक ओगटेर बसेका स्थानीय पदमदेवी उप्रेति र बेनिशा चौलागाईँले तोडफोड र आगजनी गरेको वडाध्यक्ष जोगबहादुर धिमालले बताए । उनका अनुसार तोडफोडबाट डोजरमा क्षति पुगेकोमा दोषीमाथि कारबाहीका लागि नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलासहित अन्य जनप्रतिनिधि र स्थानीयले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले कुनै कारबाही अगाडि बढाएको छैन ।

तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्नेमा प्रहरीले मेलमिलापका लागि दबाब दिएको वडाध्यक्ष धिमालको भनाइ छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायबउपरीक्षक (डीएसपी) सन्तोष खड्काले भने आगजनी गर्न गएका महिलाहरुलाई रोकेर डोजर जोगाएको बताउँदै उजुरीमाथि कारबाही चलाउनेबारे छलफल जारी रहेको जानकारी दिए । यता, डोजरका सञ्चालक सञ्जय साहले भने तोडफोडबाट दुई लाख २० हजार बराबरको क्षति भएको बताएका छन् ।