इटहरीः यही कात्तिक १३ गते इटहरीको भिआइपी गेस्ट हाउसमा एक महिलासँग आएका व्यक्ति बिरामी परे । उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो । त्यसपछि प्रहरीले होटलमा खानतलासी ग¥यो । मृतक व्यक्ति प्रेसरको बिरामी भएको पत्ता लाग्यो ।

प्रहरीले उनीसँग आएकी महिलासहित होटल सञ्चालक आनन्दकुमार लिम्बूलाई पक्राउ ग¥यो । त्यसलगत्तै होटल व्यवसायी सङ्घ इटहरीको टोलीले होटल सञ्चालकलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह ग¥यो । तर प्रहरीले कुनै चासो दिएन । लिम्बूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीले पक्राउ गर्न पाउने र अनुसन्धान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेको बताउँदै आएको छ ।

होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली होटलमा पाहुना आएको व्यक्तिको मृत्यु हुँदा सञ्चालक नै पक्राउ गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । होटल सञ्चालकले पाहुनाको आपराधिक प्रवृत्ति बाहिरैबाट छुट्याउन नसक्ने बताउँदै प्रहरीले आफ्नो मनमौजी गर्न खोजेको उनको भनाइ छ ।

लिम्बूको जस्तै अरू घटनामा पनि प्रहरीको अनावश्यक चासो बढेको व्यवसायीको गुनासो छ । सुरक्षाको बहाना पारेर प्रहरीले आफै कानुन बनाउने र अघोषित कर्फ्यु समेत लगाइरहेको व्यसायीहरू बताउँछन् ।

इलाका प्रहरी कार्यालय अगाडिको रायमाझी होटलका सञ्चालक हेमसागर रायमाझी साँझ ९ बजेदेखि नै प्रहरीले दुःख दिने गरेको बताउँछन् । ग्राहक भएको समयमा पनि प्रहरीले आएर हप्काउने गरेको उनको भनाइ छ । ‘होइन अझैसम्म किन खुल्ला गरेको ? भन्दै प्रहरीले हप्काउँछन्,’ उनी भन्छन्, ‘यहाँ बाहिरका मानिसको भन्दा प्रहरीको डर बढी भइरहेको छ ।’

प्रहरीले अलिखित रूपमा इटहरीका होटलमा छापा हान्ने र साँझसम्म पनि व्यवसाय सञ्चालन गर्न नपाउने गरी कारबाही अगाडि बढाइरहेको छ । त्यसैको फलस्वरूप इटहरीका होटल साँझ ९ बजे सम्ममा सबै बन्द हुने गरेका छन् ।

इटहरी आसपासका धरान र विराटनगरमा राती १० बजेसम्म बजार पसल सञ्चालन भए पनि इटहरी भने ८ बजे नै बन्द गर्नुपरेको व्यवसायीको भनाइ छ । यसले गर्दा इटहरीको व्यापार व्यवसायमा गम्भीर असर परिरहेको व्यवसायीको गुनासो छ ।
होटल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष पराजुली भने प्रहरी प्रशासनले आफूखुशी नियम बनाउने गरेको बताउँछन् । प्रहरी प्रमुख फेरिएलगत्तै नियमहरू परिवर्तन भइरहने उनको भनाइ छ । यसले गर्दा इटहरीका होटल व्यवसायीहरू आतङ्कित हुने अवस्था सिर्जना भएको उनी बताउँछन् ।

‘लाखौँ लगानी गरेर होटल चलाउनुपर्ने हुन्छ । त्यो लगानी उठाउन र बंैकको ब्याज तिर्न समस्या परिरहेको अवस्थामा प्रहरीको अनावश्यक नियमले दुःख दिन्छ’ उनले भने ।

सुरक्षाको कारण देखाउँदै सम्साँझै बजार तथा पसल बन्द हुँदा पर्यटन प्रवद्र्धनमा समस्या परिरहेको मितेरी होटलका सञ्चालक गोविन्द थापाको भनाइ छ । ‘प्रहरीले आफैँ नियम बनाउँदैछ,’ उनी भन्छन्, ‘इटहरीजस्तो व्यापारिक केन्द्रमा बसेर साँझ पर्न नपाई होटल बन्द गर्नुको कुनै तुक छैन । बरु सुरक्षा व्यवस्थामा परिवर्तन गर्नुपर्ने देखिन्छ ।’

१० बजेसम्म होटल सञ्चालन गर्न पाउने सहमति भएअनुसारै काम भइरहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठ व्यवसायीलाई मर्का पार्ने कुनै काम नभएको बताउँछन् । मदिरा ऐनअनुसार राति १० बजे पसल बन्द गर्नुपर्ने उनको भनाइ छ । होहल्ला र अशान्ति फैलिन सक्ने भएकाले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन यसो गरिएकोे श्रेष्ठ बताउँछन् । यो अधिकार स्थानीय प्रशासनको अधिकार क्षेत्रभित्र पर्ने गरेको उनको तर्क छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्ट सहमतिअनुसार नै काम भइरहेको बताउँछन् । १० बजेसम्म होटल खोल्ने सहमति भए पनि होटल व्यवसायी आफैँले बेलैमा बन्द गर्ने गरेको उनको भनाइ छ ।