इटहरीः सामुदायिक विद्यालयको जग्गा र संरचना व्यापारिक प्रयोजनमा नलगाउने बारेमा सर्वोच्चको निर्णय कार्यान्वयन गराउन माग गरिरहेको पुनरुत्थानवादी समूह सुनसरीमा समेत सक्रिय भएको छ ।
सामुदायिक विद्यालयको जग्गा भाडा, लिज, करार र लालपूर्जासहित व्यापारिक प्रयोजन गर्न नपाउने र बनेका संरचनाहरू भत्काउन सर्वोच्चले दिएको आदेश सुनसरीमा पनि लागू हुनुपर्ने भन्दै पुनरुत्थानवादी समूह सक्रिय भएको हो ।
सर्वोच्चले विद्यालयको जग्गा खेलमैदान, फूलबारी, प्रयोगशाला, पुस्तकालय आदि बनाउनबाहेक प्रयोग नगर्नू भनी २०७३ साल फागुन ११ गते फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठको नजिरको रूपमा २०७५ असार २७ गते सबै सम्बन्धित निकायहरूमा पठाइसकेको छ । यही नजिरका आधारमा पुनरुत्थानवादी समूहले फैसला कार्यान्वयन गर्ने अभियान छेडेको छ ।
समूहकी नेता तारा बरालले चितवनबाट सुनसरीमा आएर पत्रकारसँग कुराकानी गर्दै आफूहरूले कानुनी र आन्दोलन दुवै बाटोमार्फत् कार्यान्वयन गर्न दबाब दिने बताइन् । उनले भनिन्, ‘२०७० सालमा चितवन माविको जग्गाको विषयमा सर्वोच्चले गरेको फैसलाको नजिरका आधारमा देशभर यो नियम भएको छ । अब सामु्दायिक विद्यालयका जग्गाहरू कुनै हालतमा व्यावसायिक प्रयोजनमा प्रयोग हुनुहुन्न ।’
विद्यालयको जग्गा भाडामा लगाउने र बेच्नेविरुद्ध सर्वोच्चमा मानहानिको मुद्दा हालिने
बालकृष्ण न्यौपाने, पोषराज काफ्लेलगायतका अधिवक्ता र दर्जनौँ अभियानकर्मीहरूको समूहले यो अभियान छेडेको बरालले बताइन् । ‘विद्यालयको आन्तरिक आम्दानीको नाममा व्यावसायिक संरचना बनाउने, भाडा लाउने र बेच्ने गरिएको छ । यो हदै गैरकानुनी काम हो’, बरालले भनिन्, ‘अब यो निर्णय कार्यान्वयन नगर्ने सामुदायिक विद्यायलका नेतृत्वहरूमाथि सर्वोच्चको मानहानि गरेकोमा मुद्दा हाल्नेतर्फ हामी लाग्छौँ ।’ चितवनका केही विद्यालयले यसरी अवैध भाडामा लगाएका संरचनाहरू प्रहरीको सहयोगमा भत्काएको उदाहरण दिँदै बरालले भनिन, ‘अब पत्रकार, उपभोक्ता र अभियानकर्मीहरूको समूहले निगरानी गर्नुपर्छ । विद्यालयले भाडामा लाएका र बिक्री गरेका जग्गा र संरचनाहरू खेजेर सम्बन्धितलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’
सामुदायिक विद्यालयमा राखिएका केही निजी दरबन्दीका शिक्षकको तलब खुवाउने नाममा लाखौँको चलखेल गर्ने विद्यालयहरूको ठगी धन्धा अन्त्य हुनुपर्ने बरालले बताइन् । उनले भनिन्, ‘सामुदायिक विद्यालयमा सरकारले तलब दिएका शिक्षकहरू हुन्छन्, पूर्वाधारमा खर्च सरकारले गरेको हुन्छ । अनि किन जग्गा चाहिँ व्यवसाय र व्यक्तिको लागि भाडा, लिज र लिलाम गर्नु ?’
विद्यालयको सार्वजनिक जग्गा विद्यालयका संरचनाहरू निर्माण गर्नबाहेक अन्त प्रयोग गर्नै नहुने पनि बरालले बताइन् । उनले भनिन्, ‘सार्वजनिक सम्पत्तिमा व्यापारीकरण गर्न दिनु हुँदैन । अब त सर्वोच्चको नजिरै आएको छ । यसको कार्यान्वयन हुनुपर्छ ।’
यी हुन् जग्गा बेच्ने र भाडामा लगाउने सुनसरीका विद्यालयहरू
सुनसरीको इटहरीका सामुदायिक विद्यालयहरूले पनि आफ्ना जग्गा र संरचनाहरू भाडामा लगाउने प्रचलन बढ्दो छ । इटहरीको मुटुमा रहेको जनता माध्यमिक विद्यालयले इटहरी–६ मा चोक नजिकै रहेको साबिक माध्यमिक कक्षाहरू सञ्चालन हुने गरेको संरचना भाडामा लाएको छ । संरचनाहरू मात्रै होइन इटहरी– ९ मा रहेको खेलमैदानमा पनि विभिन्न सभा, सम्मेलन र मेलाको नाममा विद्यालयले खेलमैदान भाडामा लाउँदै आएको छ ।
यस्तै, इटहरीको आँपगाछीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले पनि सडकमै जोडिएका विद्यालयका संरचनाहरू भाडामा लगाएको छ । सो विद्यालयले एक निजी विद्यालयको संरचना बनाउन समेत आफ्नो नामको जग्गा लिजमा दिएको छ । यी २ मात्रै होइन खनारको शारदा माध्यमिक विद्यालयको जग्गासमेत विभिन्न व्यक्तिगत र व्यापारिक प्रयोजनमा लगाइएको छ ।
यसबाहेक पनि इटहरीका अन्य आधा दर्जन बढी विद्यालयहरूले जग्गा र संरचनाहरू भाडामा लगाउँदै आएको इटहरीको ज्योति माध्यमिक विद्यालयका एक शिक्षक बताउँछन् । उनी भन्छन्, ‘विद्यालयमा राजनीतिसँगै भूमाफियागिरी पनि छिरेको छ । त्यही भएर यो समस्या इटहरीमा धेरैतिर छ ।’