सङ्खुवासभाः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले तिहारअघि नै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । खाँदबारी–३ मानेभञ्ज्याङमा रहेको कृषि क्याम्पसको तीन बर्षे बाली विज्ञानको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।
प्रदेश १ मा अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैले चाँडै प्रदेश १ को सरकारले मन्त्रिमण्डल बिस्तार गर्न लागेको मन्त्री घिमिरेले जानकारी दिए ।
नयाँ संरचना भएकाले काम गर्न केही असहज भए पनि प्रदेश सरकारले चाँडै पूर्णता पाउने र जनचाहनाअनुसार काम गर्ने घिमिरेले दाबी गरे । नयाँ प्रणालीको कानुनअनुसार चल्नुपर्ने भएकाले प्रदेश सरकारको काममा केही ढिलासुस्ती भएको उनले स्वीकारे ।
हिउँदे अधिवेशनबाट प्रदेशको राजधानी र नामकरण सबै राजनीतिक दलको सहमति र सहकार्यमा टुङ्ग्याउने मन्त्री घिमिरेले बताए । उनले भने, ‘कम्युनिष्ट सरकारको दुई तिहाई बहुमत भए पनि राजधानी र नामकरणको विषय सहमतिबाट टुङ्ग्याइने छ ।