इटहरीः बिहीबार सरकारले देशका १ सय नयाँ गन्तव्य सूची सार्वजनिक गर्दा प्रदेश १ का २८ स्थान सूचीकृत भएका छन् । स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्य र नयाँ तथा विकास गरिनुपर्ने गरी प्रदेशभित्रका १४ स्थानलाई नेपाल सरकारले समेटेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सार्वजनिक गरेका ती गन्तव्यको सूचीमा १ नं प्रदेशका ५ जिल्लामा पर्यटकीय गन्तव्य उल्लेख छैन भने बाँकी जिल्लाका स्थानलाई विकास तथा प्रवद्र्धन गरिनुपर्ने भनी उल्लेख गरिएको छ । सरकारले बनाएको सूचीमा सुनसरीका ४ वटा पर्यटकीय स्थल अटाएका छन् । सुनसरीका वराहक्षेत्र, धरान, इटहरीको तालतलैया र कोशी टप्पु वन्यजन्तु आरक्ष पर्यटकीय स्थल उल्लेख छन् ।

कुनकुन जिल्ला समेटिए ?
प्रदेश १ को सुनसरीबाट धरान, इटहरी, वराहक्षेत्रसहित सबैभन्दा धेरै पर्यटकीय क्षेत्र समेटिएको छ भने मोरङको एउटा मात्र पर्यटकीय क्षेत्र समेटिएको छ । मोरङको बेलबारीस्थित धनपालगढी पर्यटकीय क्षेत्र मात्र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा परेको छ । सुनसरीमा भने कोशी टप्पु वन्यजन्तु आरक्ष, धरान, वराहक्षेत्र नगरपालिकास्थित बराहक्षेत्र र इटहरी उपमहानगरस्थित तालतलैया स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यहरूको सूचीमा परेका छन् । त्यसैगरी, धरानकै पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा राखिएको छ ।

झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र स्थापित गन्तव्यको सूचीमा छ । यस्तै, झापाकै बिर्तामोडस्थित शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन केन्द्र र अर्जुनधारा पर्यटकीय क्षेत्र पनि नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा छन् । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित नमस्ते झरना स्थापित गन्तव्यको सूचीमा परेको छ भने छथर गाउँपालिकाको हलदे पटके डाँडा पर्यटक ट्रेल नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा छ ।

ताप्लेजुङको स्थापित तर प्रर्वद्धन गर्नुपर्ने गन्तव्यमा पाथीभरा र साँवा गाउँपालिकामा अवस्थित फुङफुङे झरनालाई समेटिएको छ । नयाँ गन्तव्यको रूपमा सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरीलाई समेटिएको छ । पाँचथरको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लोब्रे कुटी–गजुरमुखी धाम–लारुम्बा–चुक्कीनाम्बाङलाई) समेटिएको छ भने इलामको सन्दकपुर–माइपोखरीलाई स्थापित गन्तव्यको रूपमा सूचीकृत गरिएको छ ।

भोजपुर जिल्लाको ट्याम्के डाँडा (मुन्धुम ट्रेल) नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा समेटिँदा खोटाङको हलेसी महादेव स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको सूचीमा छ भने वराह गाउँपालिकाको वराह पोखरी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा छ ।

तेह्रथुमको तिनजुरे–मिल्के–जलजले (टिएमजे) लाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा राख्दा सङ्खुवासभाको अरुण उपत्यका भने स्थापित गन्तव्य र बोलेश्वर ऐतिहासिक गुफा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा अटाइएको छ ।
यस्तै, सोलुखुम्बुको स्याङ्बोचे र सगरमाथा स्थापित गन्तव्यको सूचीमा समेटिँदा महाकुलुङ गाउँपालिकास्थित पाँचपोखरी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा छ । ओखलढुङ्गाको पोकली झरना स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यको सूचीमा परेको छ भने थोलेदम्बा डाँडा नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा अटेको छ । उदयपुरको उदयपुरगढी नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको सूचीमा छ ।

केही गन्तव्य समेटिएनन्ः पर्यटनकर्मी
सरकारले समेटेको प्रदेश १ का पर्यटकीय गन्तव्यमा केही स्थान समेट्नुपर्नेमा ती स्थान छुटेका बताए । पर्यटनकर्मी रविन गौतमले खेलकुद र व्यापारिक पर्यटनको हिसाबले इटहरी उत्कृष्ट रहेको भन्दै यसलाइ समेट्नुपर्ने धारणा राखेका छन् । उनले मोरङको धार्मिक ऐतिहासिक स्थल विराट राजाको दरबारलाई नै छाडिएको भन्दै यस्ता प्राचीन महत्वका क्षेत्र समेट्नुपर्ने बताए । उनका अनुसार झापाकोे दोमुखा, कृष्णथुम्की, मोरङको हसिना र बेतना सिमसार, धनकुटाको भेडेटार र ध्वजेडाँडा, भोजपुरको टक्सार, सङ्खुवासभाको सभापोखरीलगायतका स्थान छुटेका छन् । यी स्थानलाई पनि समेटिनुपर्ने उनले बताए ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको सरकारले सो लक्ष्य पूरा गर्न नयाँ पर्यटकीय गन्तव्यहरूको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार नयाँ गन्तव्यको पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा नै बजेट विनियोजन गरिनेछ । नयाँ गन्तव्यहरूको लागि पूर्वाधार र स्थापित भइसकेका गन्तव्यहरूका लागि पनि थप प्रचारप्रसार गर्न बजेट विनियोजन गरिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले एक प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।