इटहरीः नेपाल प्रेस युनियन सुनसरी शाखाको आठौँ अधिवेशन मतदाता विवादका कारण स्थगित भएको छ । इटहरीमा जारी अधिवेशनको बन्दसत्रमा प्रतिनिधिका बारेमा विवाद निस्किएपछि अधिवेशन नै स्थगित गर्नुपरेको हो ।

खुला सत्रसँगै शुरु भएको निर्वाचन कार्यक्रम शुरुदेखि नै विवादमा परेको थियो । उपस्थित युनियनका नेताहरूले खुला सत्रपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाएका थिए । तथापि निर्वाचन समितिका संयोजक कृष्ण अधिकारीले प्रक्रिया नरोकिने बताएपछि उमेद्वारी मनोनयन प्रक्रिया सुचारु भएको थियो ।

उमेद्वारी मनोनयन प्रक्रिया सकिएसँगै शुरु भएको बन्दसत्रमा कोरम नपुगेको भन्दै होहल्ला चल्यो । प्रेस युनियनका नेता ध्रुव ढकालले गणपूरक सङ्ख्या नपुगेका कारण बन्द सत्र स्थगित गर्न माग गरे । त्यससँगै उपस्थित सदस्यहरू बाहिरिएका थिए ।
प्रेस युनियन जिल्ला सभापति गणेश निरौलाले बन्द सत्र सञ्चालनमा अधिकतम प्रयास गरे पनि अन्ततः उनी असफल भए । निर्वाचन संयोजक अधिकारीले आगामी शनिबार सम्मको लागि अधिवेशन स्थगित भएको घोषणा गरेका थिए ।

सभापतिको लागि सहमति नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । पूर्वाञ्चल सचिव धनबहादुर पुरी र जिल्ला सचिव पवनअधिकारीबीच सहमति हुन नसकेको हो । प्यानलै बनाएर चुनावी तयारीमा रहेका अधिकारी निर्वाचनमार्फत् सभापति हुने दाउमा लागेका थिए ।

उता पुरी भने फर्जी मतदाता नहटाएसम्म निर्वाचनमा जान नसकिने बताउँदै आएका थिए । होटल सञ्चालकदेखि नेकपाका कार्यकर्तासम्म प्रतिनिधि रहेको भन्दै उनले यस्तो लोकतान्त्रिक अराजकता मान्न नसकिने बताए । चुनाव जित्नकै लागि रातारात सदस्य थपिएको उनको आरोप छ । श्रमजीवी पत्रकारको सङ्गठन मानिएको प्रेस युनियनमा सिन्डिकेट लगाउन खोजिएको उनको भनाइ छ ।

अर्का उमेद्वार अधिकारी भने निर्वाचन प्रक्रिया नै स्थगित हुनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपछि विवाद निस्कनु राम्रो नभएको उनको तर्क छ ।

युनियन जिल्ला सभापति गणेश निरौला भने सहमतिमै पठाएको नामावलीमा विवाद झिक्ने काम भएको बताउँछन् । केन्द्रीय समितिले स्वीकृत गरेको नामावलीमा विवाद गर्नु राम्रो नभएको उनको भनाइ छ ।

अधिवेशनका केन्द्रीय प्रतिनिधि विजय सन्तोषी राई उमेद्वारको हठका कारण सहमति हुन नसकेको बताउँछन् । कोही पनि लचिलो नभएकैले प्रक्रियामा जानुपरेको उनको भनाइ छ ।

सहमतिका लागि धेरै छलफलहरू निश्प्रभावी बनेका हुन् । ४ वर्षे कार्यकालमा २÷२ वर्ष नेतृत्व गर्ने विषयमा दुवै पक्ष सहमत देखिए पनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा विवाद भएको थियो । सभापतिबाहेक कार्यसमिति उही रहने गरी दुई वर्षे कार्यकाल बनाउन दुवै पक्ष सहमत देखिन्छन् ।

उता, प्रेस युनियनका पूर्व जिल्ला सभापति गोविन्द घिमिरे युनियनभित्र शुद्धीकरणको खाँचो रहेको बताउँछन् । केही व्यक्तिको कब्जामा परेको युनियनलाई बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । आफ्नो पेवाजस्तो गरेर युनियनलाई प्रालि बनाउने प्रयास भइरहेको र यसबाट सचेत हुनुपर्ने उनको धारणा छ । अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।

press union (3)