इटहरीः इटहरी–१ सुशान्त टोलमा अवस्थित पूर्वाञ्चल अपाङ्ग र वृद्धा सेवा केन्द्रको भवनमा सामाजिक अभियन्ता हेमा तमूकी छोरी सुजुकीश्रीले आफ्नो १६ औ जन्मदिन मनाएकी छिन् ।
पढाइका साथै चित्रकलामा रूचि राख्ने सुजुकी पूर्वाञ्चलस्तरीय अन्तरविद्यालय चित्रकलामा पहिलो भएकी थिइन् । उनका बाबु रवीन्द्र गुरुङ समाजसेवामा आफ्नो समय खर्चिन्छन् । सामुदायिक अस्पताल इटहरीका संस्थापक अध्यक्ष गुरुङ सामाजिक सेवा गरेबापत भारतबाट प्रदान गरिने डा. अम्बेडकर सेवाश्री नेशनल अवार्ड २०१२ बाट सम्मानित भएका छन् । बाबुआमाको प्रेरणाबाट आफूलाई पनि सामाजिक काममा इच्छा लागेको सुजुकीश्रीको भनाइ छ । भोज गरेर जन्मदिन मनाउने शहरिया फेशनलाई छोडेर पूर्वाञ्चल अपाङ्ग र वृद्धा सेवा केन्द्रलाई प्लास्टिकका २५ वटा कुर्सी दिएर उनले फरक तरिकाले जन्मदिन मनाएकी छिन् ।
आश्रमकी गुरूआमा तृप्ता मगरले सुजुकीश्रीको जन्मदिन मनाउने तरिका अनुकरणीय रहेको बताउँदै बालबालिकाले उनको अनुशरण गर्नुपर्ने बताइन् ।
वि.सं.२०६७ सालमा अपाङ्ता भएका व्यक्तिहरूबाट मेची महाकाली १ महिने ह्वीलचेयर यात्राको नेतृत्व गरी अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूको हक अधिकार संविधानमा सुनिश्चित गराउन सफल भएकी मगर सो संस्थाकी संस्थापक अध्यक्ष हुन् ।
जन्मोत्सव कार्यक्रममा तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय उपाध्यक्ष शिलाकुमारी गुरुङ, नेपाल मगर सङ्घ इटहरी नगर इकाईका अध्यक्ष खोजबहादुर मगरको उपस्थिति थियो । त्यस्तै, संस्थापक सदस्य समरबहादुर कार्की, सदस्य मानबहादुर भुजेलका साथै लायन्स क्लब अफ इटहरी ग्रीनसिटीका महिला सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।