विराटनगरः आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्ने क्षमता बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निराशाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्ने दाबी समेत गरे ।

प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । ‘वित्तीय सङ्घीयता लागू भएको ४ महिनामा सबै ठीकठाक हुन्छ भनेर सोच्न हतार हुन्छ’, उनले भने, ‘प्रदेश सरकारका आफ्नै संरचना बन्ने क्रममा रहेकाले सङ्घबाट प्रदेश सरकारलाई संरचना एकैपटक हस्तान्तरण सम्भव हुँदैन ।’

मन्त्री खतिवडाले संरचना दिने र लिने विषय भएकाले दिनेले दिन सक्नुपर्ने र लिनेसँग त्यो सञ्चालनको क्षमता हुनु आवश्यक रहेको औँल्याए । उनले कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार गर्दै सङ्घीय निजामती कानुन आउनासाथ त्यो समस्या समाधान हुने उनले जानकारी दिए । अर्थमन्त्री खतिवडाले वित्त अयोगको अभावमा भने काम नरोकिएको दाबी गर्दै त्यसलाई पनि चाँडै टुङ्ग्याउने जानकारी दिए ।