विराटनगरः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । आज दिउँसो २ बजे नेपाल वायुसेवा निगमको जहाज चढेर राई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड लागेका राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

उनले प्रेस नोट जारी गर्दै २ वर्षदेखि घाँटीको उपचार गराउँदै आएका राईको रोग पत्ता नलागेका कारण थप उपचारका लागि विदेश जानुपरेको बताएका छन् । उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘२ वर्षदेखि घाँटीको समस्याबाट पीडित उहाँको वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटी लगायतका अस्पतालमा उपचार भए पनि रोग पत्ता लाग्न सकेको छैन ।’

कात्तिक ११ गते बसेको प्रदेश १ को क्याबिनेट बैठकले मुख्यमन्त्री राईलाई उपचार गर्न विदेश जाने स्वीकृति प्रदान गरेको थियो । उनको थाइल्याण्डस्थित बुम्रुनग्राण्ड इन्टरनेशनल अस्पतालमा उपचार हुने बताइएको छ ।

प्रदेश १ का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राईको प्रारम्भिक उपचारका लागि थाइल्याण्ड जाने र थप उपचारका लागि अमेरिका जाने सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।  मुख्यमन्त्रीको सचिवालयका अनुसार उनको सम्पूर्ण उपचार निजी खर्चमा हुनेछ ।