धरानः शिक्षासेवी पण्डित पुरुषोत्तम भट्टराईलाई अभिनन्दन गरिएको छ । भट्टराईको ९१ औं जन्मोत्सवको अवसरमा एक समारोहका बीच दोसल्ला र अभिनन्दनपत्रका साथ उनलाई अभिनन्दन गरिएको हो ।
विश्व हिन्दू महासङ्घ, सुनसरी जिल्लाको आयोजनामा उनकै निवासमा अभिनन्दन गरिएको आयोजकले जनाएको छ । धरान–१४ मा स्थायी बसोबास गर्दै आएका सह प्राध्यापक भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवम् पिण्डेश्वर विद्यापीठ धरानका पूर्व प्राचार्य पनि हुन् ।
संस्कृत वाङ्मयका कुशल साधक भट्टराई वैदिक सनातनधर्म र दर्शनका व्याख्याता हुन् । उनकै नेतृत्वमा अहिले धरानको पञ्चकन्या मन्दिर नजिक पिण्डेश्वर संस्कृत उच्च मा. वि. र गुरुकुलसमेत सञ्चालन हुँदै आएका छन् । निःशुल्क भोजन एवम् आवाससहितको गुरुकुलमा रहेर हाल ६२ जना विद्यार्थीले शिक्षा लिँदै आएका छन् ।
अभिनन्दन समारोहका अध्यक्ष डा. आनन्दप्रसाद आचार्यले वेद, वेदाङ्ग, दर्शन, साहित्य, धर्मशास्त्र आदि शास्त्रीय विषयका साथै पाली, प्राकृत, उर्दू, तिब्बतीजस्ता भाषाप्रयोगमा समेत निपुर्ण भट्टराई पौरस्त्य ज्ञानका प्रतिमूर्ति रहेको बताए । नेपालमा गुरुहरूको सम्मानमा कमी आउन थालेको र गुरुचेलाबीचको सम्बन्ध टाढिँदै जान लागेकाले गुरुचेलाबीच प्रगाढ सम्बन्ध र घनिष्टता कायम राखिरहन गुरुको सम्मानमा समितिले यस किसिमको कार्यक्रमको थालनी गरेको उनले बताए ।
कार्यक्रम सञ्चालक पिण्डेश्वर विद्यापीठका प्राचार्य प्रा.डा. चन्द्रमणि नेपालले सादा जीवन र सात्विक विचार एवम् आचरणकै कारण भट्टराई ९ दशक पार गर्दा पनि स्वस्थ रहन सफल रहेको बताए । कार्यक्रममा अभिनन्दित पं. भट्टराईले सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको प्रष्ट बताए । सरकारले हिन्दू धर्म र दर्शनको संरक्षण र सम्बद्र्धनमा कुनै चासो नराखेको उनले बताए ।
कार्यक्रममा प्रा. डा. भरतप्रसाद भट्टराई, डा. भवानीशङ्कर भट्टराई, पं.लोकनाथ लुइँटेललगायतले अभिनन्दित भट्टराईको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए । कार्यक्रममा डा. महानन्द तिमिल्सिना, उपप्रा. प्रेमसागर खतिवडा, सहप्रा. गुरुप्रसाद कोइराला, हरेराम कर्माचार्य, प्रा. वंशीधर कट्टेल, प्रा. नारायणदत्त पौडेल, साहित्यकार गोविन्द तिम्सिना, उद्धव अधिकारी, खिलनाथ खतिवडा आदिको उपस्थिति रहेको थियो ।