खाँदबारीः आफ्नो घरमा नै चाडपर्व भत्ता पाउँदा ज्येष्ठ नागरिकहरू खुशी भएका छन् ।

खाँदबारी नगरपालिकाका जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरूको घरघरमा पुगेर पर्व भत्ता वितरण गरेका हुन् । नगर कार्यपालिकाले ८० वर्ष पूरा गरेका नगरभित्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च भन्दै प्रतिव्यक्ति २ हजारका दरले दिने निर्णय गरेको थियो ।

कार्यपालिकाको निर्णयअनुसार आफूहरूले घरघरमा गएर भत्ता वितरण गरेको वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलाले बताए । कार्यवाहक अध्यक्ष निरौलाले वडामा रहेका सबै ज्येष्ठ नागरिकहरूको घरैमा पुगेर भत्ता वितरण गरेको जनाए ।
वडा नम्बर ५ मा ८० वर्षमाथिका ३२ जना ज्येष्ठ नागरिक रहेका छन् । उनले यस वर्ष मात्र नभई आफ्नो ५ वर्षीय कार्यकालसम्म लगातार उक्त कार्यलाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । घरैमा पुगेर भत्ता वितरण गर्दा ज्येष्ठ नागरिक खुशी हुँदै धन्यवाद व्यक्त गरेका थिए ।

पहिलोपटक यसरी घरैमा भत्ता पाउँदा खुशी लागेको वडा नम्बर ५ का ज्येष्ठ नागरिक ललीबहादुर दर्जीले बताए । सोही वडाकी नैनकला गुरुङले आफूले जिताएर पठाएका प्रतिनिधिहरू भत्ता दिनका लागि घरैमा आइपुग्दा खुसी लागेको बताइन् । ८२ वर्षीया गुरुङले वर्षैपिच्छे यसरी नै घरैमा भत्ता लिएर आउन कार्यवाहक अध्यक्ष श्यामप्रसाद निरौलालाई आग्रह समेत गरिन् ।
खाँदबारी नगरपालिकाले पहिलो पटक घरघरमा गएर ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको नगरपालिका कार्यालयले जनाएको छ । नगरका ११ वटै वडाका ज्येष्ठ नागरिकलाई वडाअध्यक्षमार्फत् भत्ता वितरण भइरहेको नगरपालिकाले जनाएको छ ।

हालसम्म ४ सय ३१ जना ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरिसकेको नगरपालिकाले जनाएको छ । अहिले पनि भत्ता वितरण भइरहेकाले २÷४ दिनभित्र सबै वडाको तथ्याङ्क आइसक्ने कार्यालयले जनाएको छ ।