इटहरीः ‘६ महिना भएछ त नियम परिवर्तन भएको । अझै तपाईँहरूलाई थाहा हँुदैन ?’ सङ्खुवासभाका रबिन राई इटहरीको यातायात लाइसेन्स कार्यालयमा शाखा अधिकृत भुपेन्द्र राईसँग रिसाउँदै थिए ।
डोजरको लाइसेन्स खुलेको थाहा पाएर १ दिनको बाटो तय गरेर सङ्खुवासभाबाट लाइसेन्सको फर्म भर्न उनी इटहरी आएका थिए । तर, उनले यातायात कार्यालयको एउटा सूचनाका कारण लाइसेन्सको फर्म भर्न पाएनन् ।
यातायात कार्यालयले पहिलोपटक हेभी सवारी साधनको अनुमतिपत्र वितरण गर्ने सूचना २०७५ असोज २५ गते जारी गरेको थियो । सो सूचनामा कुनै व्यावसायिक संस्थाहरूमा एक वर्षसम्म कम गरेको प्रमाणपत्र भएकाले लाइसेन्स आवेदन गर्न सक्ने व्यवस्था गरिएको थियो । तर २०७४ चैतमै बनेको सवारी चालकसम्बन्धी यातायात निर्देशिकाले भने व्यावसायिक अनुभव काम नलाग्ने गरी अनिवार्य १५ दिने ड्राइभिङ तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको थियो ।
पहिलो सूचनाको आधारमा १० वर्ष एउटा कम्पनीमा काम गरेको अनुभवको प्रमाणपत्र लिएर लाइसेन्सको फर्म भर्न सङ्खुवासभाबाट राई आएका थिए । ‘समय मात्र परिवर्तन भएको होला भनेर पहिलो सूचनाको आधारमा अनुभवको प्रमाणपत्र लिएर आएको थिएँ’, राईले भने, ‘चैतमै निस्किएको नियममा तालिम अनिवार्य गरेको रहेछ तर असोजसम्म पनि पुरानो नै नियममा सूचना निकाल्ने पनि अधिकृत रे ? अधिकृतले पढ्नु पर्दैन नियम ?’
गल्ती लुकाउन प्राविधिक कारण देखाउँदै पुन फर्म खुलाइयो
असोज २५ गते निकालिएको पहिलो सूचना स्थगित गरेर २०७५ कात्तिक १२ गते अर्काे सूचना निकालियो । विभिन्न कारणले हेभी सवारीको लाइसेन्स आवेदन बन्द गर्नुपरेको भन्दै कार्यालयका शाखा अधिकृत भुपेन्द्र राईको हस्ताक्षरमा पुनः सूचना जारी गरियो । जसमा अनुभवको प्रमाणपत्र नचाहिने तर अनिवार्य १५ दिनको तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
‘हामीले पत्रमार्फत् माफ मागि नै सकेका छौँ’, कार्यालयले गरेको गल्ती बारे सोध्दा अधिकृत राईले भने, ‘ऐन नियम सबै थाहा हुने कुरा पनि भएन । कहिलेकाहीँ गल्ती त भइहाल्छ नि ।’
अधिकृत राईमाथि सेवाग्राहीहरू भने आक्रोशित भएका थिए । ‘तपाईँहरूको एउटा गल्तीले आज काम र दाम दुवै गुमायौँ । कम्तीमा यातायातमा काम गर्ने जिम्मेवार अधिकृतलाई यातायातको कानुनबारे जानकारी हुनुपर्दैन ? यस्तो दुःख कहिलेसम्म हामीले पाउने’, सेवाग्राहीको गुनासो थियो ।
एउटा कम्पनीमा १० वर्ष डोजर चलाएको अनुभवको प्रमाणपत्र लिएर आएका सङ्खुवासभाका चालक रबिन राईसँग १५ दिनको ड्राइभिङ ट्रेनिङ लिएको प्रमाणपत्र नभएकाले फर्म भर्नै पाएनन् ।
२ दिनको म्याद राखेर सूचना
कार्यालयले कात्तिक १२ गते निकालेको सूचनामा फर्म भर्ने म्याद कात्तिक १४ र १५ गते भनिएको छ । यसरी कात्तिक १२ मा सूचना निकालिनु अनि सूचना निकालेको २ दिनपछि २ दिनका लागि फर्म खुलाइनु न्यायोचित नभएको उनीहरूको ठहर छ । ‘सूचना खुल्नासाथ थाहा पनि हुँदैन अनि थाहा पाए पनि कतिपय ठाउँबाट २ दिनमा इटहरी आइपुगिँदैन’ पीडित राईले भने, ‘१५ दिनको ड्राइभिङ तालिम अनिवार्य भनिएको हुनाले सो तालिम लिन पाउने गरी फर्म खुलाइनुपथ्र्याे ।’