इटहरीः नेपालीमा धनुषवाण भनिने आर्चरी खेलमा इटहरीबाट राष्ट्रिय खेलाडीहरूको अभाव छ । नयाँ पुस्ताहरू त लगभग छैनन् भन्दा पनि हुने यसका जानकारहरू बताउँछन् ।

इटहरीको यही अभाव पूरा गर्न २ जना पाका खेलाडीहरू सक्रिय भएका छन् । ६० वर्ष उमेर कटेका जयन्द्र राई र रामप्रसाद राई इटहरीमा आर्चरीको नयाँ पुस्ता उत्पादनमा सक्रिय छन् ।

बुढी खोला किनारमा रहेको तायारिची भवन परिसरमा उनीहरू नियमित प्रशिक्षण गराउँछन् । आफैँ पनि दिउँसो अभ्यास गरिरहन्छन् । गत बुधबार तायारिची परिसरमा पुग्दा राईद्वय आर्चरी अभ्यासमै व्यस्त देखिए । २०७० सालदेखि हरेक वर्ष हुँदै आएको आर्चरी प्रतियोगितामा जयन्द्र राई भन्दैथिए, ‘आफूलाई दिउँसो समय कटाउन र युवाहरूलाई सिकाउन पाउँदा खुशी लागेको छ ।’

युवतीहरूको पनि उत्तिकै आकर्षण
पुरुष बाहुल्यजस्तै रहेको आर्चरी खेलमा इटहरीमा भने महिलाहरूको पनि राम्रो सहभागिता छ । तायारिची भवन परिसरमा निजी खर्चमा हुने सिकाइमा आउने आधा सदस्यहरू महिला छन् । ४ जना नयाँ पुस्ताका आर्चरी सिक्न आउनेहरूमा स्थानीय गंगा राई र मनिषा राई छन् । बाँकी २ जना सिकारुमा अनिल राई र साजन राई छन् ।

नयाँ पुस्ताहरूमा आधा महिला र आधा पुरुष बनाउने गरी नसोचिए पनि आफँै यस्तो हुन गएको प्रशिक्षक रामप्रसाद राई बताउँछन् । उनी भन्छन्, ‘हामीले कुनै कोटा राखेर गरेका होइनाँै तर आधा केटा र आधा केटी भए ।’

आफूहरूले ४ जना युवालाई नियमित रूपमा आर्चरी सिकाइरहेको राईले बताए । यिनै चार नयाँ पुस्ताबाट पछि राम्रा सम्भावनाहरू देखेको उनी बताउँछन् । भन्छन्, ‘हाम्रो सांस्कृतिक खेललाई व्यावसायिक खेल बनाउन यस्तै सानातिना अभियानले सहयोग पुग्ने आशा छ ।’

आर्चरी खेलको दुःख, महङ्गा सामग्री र पूर्वाधार अभाव
किराती समुदायको मुख्य अगुवाइ र स्थानीय सरकारको सामान्य सहयोगमा बनेको तायारिची परिसरमा खेलिने आर्चरीका समस्याहरू भने धेरै छन् । प्रशिक्षकहरूका अनुसार पहिलो समस्या यसका सरकारी र सुलभ पूर्वाधारहरू छैनन् ।

आर्चरीमा इटहरीमा जति काम भएको छ निजी तबरबाट भएको छ । आर्चरीको निशाना (टार्गेट) धनुष अर्थात बो र बाण अर्थात एरो अनि अन्य आवश्यक सामग्रीहरू आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यत्तिमात्रै होइन, आर्चरीका व्यक्तिगत खेल सामग्रीहरू समेत महङ्गा छन् । आर्चरीको बो, एरो, टार्गेट र अन्य आवश्यक उपकरणहरूको न्यूनतम खरिदमा मात्रै ५० हजार हाराहारी रकम सकिने खेलाडी जयन्द्र राई बताउँछन् । उनी भन्छन्, ‘यो खेलमा धेरै लगाव, ध्यान र महङ्गा सामग्रीहरू चाहिन्छ । तर, यही खेलमा सरकारी पूर्वाधाहरू भने इटहरीमा बनेका छैनन् ।’

राखेपबाट पूर्वाधार सहयोगको आश्वासन
आर्चरी खेलाडी रामप्रसाद राई अहिलेसम्म आफूहरूले सामुदायिक र निजी तवरमा केही गर्ने प्रयास गरेको बताउँछन् । अब नेपाली खेलकुदको साझा सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट पनि सहयोगको आश्वासन आएको उनी बताउँछन् । राखेप सदस्य सचिव केशव विष्टकै गृहनगर इटहरीमा आर्चरी खेलको पूर्वाधार अभाव भइरहेको बेलामा आफूहरूको कुरालाई सदस्य सचिवले सम्बोधन गर्ने बताएको खेलाडी राईले बताए । उनले भने, ‘आगामी दिनमा हामीलाई सहयोगको आश्वासन राखेप सदस्यसचिवले दिनुभएको छ । यो कुराले हामीमा थप जाँगर आएको छ ।’

archary  (3)