विराटनगरः प्रदेश नम्बर १ का कार्यवाहक मुख्यमन्त्रीमा हिक्मत कार्की तोकिएका छन् । कार्की प्रदेश १ क्याबिनेटको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता समेत हुन् । मुख्यमन्त्री शेरधन राई उपचारका लागि हिजो थाइल्याण्ड प्रस्थान गरेका छन् ।

कार्कीलार्इ प्रदेश प्रमुख प्रा. डा. गोबिन्द तुम्बाहाङले कार्यवाहक मुख्यमन्त्रीको प्रशासनिक जिम्मेवारी सम्हालेको सार्वजनिक रुपमा जानकारी गराएका छन् । तुम्बाहाङले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेख्दै मुख्यमन्त्री राईको सिफारिशमा कार्कीलाई उनको जिम्मवारी तोकिएको उल्लेख छ ।

राई घाँटीको उपचारका लागि थाइल्याण्ड गएका हुन् । उनको थाइल्याण्डको बुम्रुन इन्टरनेशनल अस्पतालमा उपचार हुने प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार नेपालका सरकारी तथा निजी अस्पतालमा विगत २ वर्षदेखि उपचार गराए पनि रोग पत्ता लाग्न सकेको थिएन । उनको उपचार निजी खर्चमा हुने बताइएको छ ।
राई कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।