इटहरीः शनिबार साँझ ७ बजे मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा आगलागी हुँदा लाखौंको क्षति भएको अनुमान गरिएको छ । पुष्पाञ्जली चोकस्थित भट्टराईको देवालीथान छेउमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

स्थानीय गोविन्द दुलालको घरमा भएको आगलागीमा परी घरभित्रको सबै सामान जलेको स्थानीयले बताए । स्थानीय रमेश आचार्यका अनुसार टिनको छानो भएको एक तले घरको सम्पूर्ण सामान जलेको र कुनै पनि सामान निकाल्न नसक्दा धेरै क्षति भएको हो । उनका अनुसार घरसँगै पालिएका ४ सय भन्दा बढी कुखुरा पनि नष्ट भएका छन् ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । सुन्दरहरैंचा र इटहरीका दमकल तथा स्थानीयवासी आगो नियन्त्रणमा लागेका थिए । आगो नियन्त्रणमा आइसकेको स्थानीयले बताए ।

दमकल ढिलो आउँदा बढी क्षति भएको स्थानीयको भनाइ छ । आगलागी भएपछि दमकललाई फोन गरेको १ घण्टा आसपासमा मात्रै दमकल आएको स्थानीयले बताए ।