बेलबारीः बेलबारी–४ मा रहेको देवीथान सामुदायिक वन उपभोक्ता समूहले लक्षित समूहमा परेका विभिन्न परिवारलाई जस्तापाता तथा चौपाया वितरण गरेको छ ।

सो वन उपभोक्ता समूहको नवनिर्मित भवनको उद्घाटनको अवसरमा सामुदायिक वनले उपलब्ध गराएका जस्तापाता र चौपाया मोरङ क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद राजकुमार ओझाले वितरण गरे ।

सो कार्यक्रममा बेलबारी ४ का वडाध्यक्ष रामकुमार राई, फेकोफन मोरङका उपाध्यक्ष रामकृष्ण राई, सेक्टर वन कार्यालयका प्रमुख शत्रुघनलाल यादव, बेतना सिमसार संरक्षण समितिका अध्यक्ष डम्बर बस्नेत, फेकोफनका बेलबारी नगरमहासङ्घ अध्यक्ष देवीप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

नवनिर्मित भवन उद्घाटनपछि बोल्दै प्रमुख अतिथि प्रदेशसभा सांसद राजकुमार ओझाले सामुदायिक वनको आन्दोलनमा अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै सरकार अहिले कानुन बनाउने कार्यमा लागेका कारणले जनअपेक्षित काम गर्न नसकेको तर अब चाँडै त्यसको नतिजा देखिने गरिको काम हुने बताए । वडाध्यक्ष राईले राम्रो काम गर्नेलाई पुरस्कार तथा गलत काम गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुपर्ने बताए ।

३० लाखको लगानीमा निर्माण भएको सो भवनमा कार्यालय र सभाहल गरी जम्मा ४ कोठा रहेको सो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण सुनुवारले बताए । नारायणकुमार राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन समितिकी सचिव रीता पोखरेलले गरेकी थिइन् ।

debi than debithana