विराटनगरः नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले ओली नेतृत्वको सरकार सर्वसत्तावाद लाद्न उद्यत भएको आरोप लगाएका छन् । आइतबार विराटनगरमा डेमोक्रेटिक्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले ओली सरकार लोकतन्त्रका आधारभूत संरचना भत्काउन लागि परेको बताए ।
‘यो सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकिरहेको छैन’, उनले भने, ‘यस्तो कमजोर नेतृत्वलाई सरकारमा बस्ने नैतिक अधिकार छैन ।’
उनले यो सरकार सुरक्षा संयन्त्र, सञ्चार क्षेत्र, न्यायप्रणाली ध्वस्त पार्न लागि परेको समेत आरोप लगाएका छन् । ‘न्यायप्रणालीमा दलीय छाया परेकै कारण जनविश्वास घट्दो अवस्थामा छ’, उनले भने ।
न्याय क्षेत्र जनताको अन्तिम आस्था र भरोसाको केन्द्र भएको हुँदा यसको गरिमा बढाउन सबै लाग्नुपर्ने भन्दै हत्यारा कुनै दलविशेषको नहुने र त्यसलाई अपराधीकै नजरले व्यवहार गरिनुपर्ने कोइरालाले बताए ।
प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरणलगायतका कार्यालय आफ्नो मातहतमा ल्याएर भ्रष्टाचारलाई प्रश्रय दिएको कोइरालाको ठहर थियो ।