बेलबारीः बेलबारी–९ का आगलागीपीडित सुरेन्द्र राजवंशीको परिवारलाई बेलबारी नगरपालिकाले राहत रकम प्रदान गरेको छ । पीडित राजवंशीको घरमै पुगेर नगद १५ हजार राहतस्वरूप नगरपालिकाले प्रदान गरेको होे ।
राहत रकम दिँदै नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले आपतविपतमा परेका नगरवासीलाई तत्काल राहत उपलब्ध गराउने बताइन् । राहत रकम लिँदै सुरेन्द्रकी पत्नी सुषमा राजवंशीले आफूलाई स्थानीय सरकार भएको आभास मिलेको बताइन् । बिहीबार दिउँसो ग्यास चुलो बालेर खेतमा धान काट्न गएको समयमा आगलागी हुँदा राजवंशीको ५० हजार भन्दा बढीको क्षति भएको थियो ।
उता, सुन्दरहरैंचा–७ गोठगाउँमा शनिबार साँझ भएको आगलागीमा परी पीडित परिवारको लागि राहत सङ्कलन हुन थालेको छ । नेकपाका नेता गोकुल न्यौपानेका अनुसार घटनास्थलमा आउने व्यक्तिसँग तथा गोठगाउँका घरघरमा गएर राहत रकम सङ्कलन गर्न शुरु गरिएको छ ।