विराटनगरः नेपालमै पहिलो पटक ९५ वर्षीय ज्येष्ठको मुटुमा पेसमेकर जडान गरेर नोबेल शिक्षण अस्पतालले रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापाको अर्जुनधाराका भुवनसिंह देवानको छातीमा पेसमेकर राखी मुटुको चाल सामान्य बनाइएको हो ।

यति धेरै पाको उमेरका व्यक्तिको मुटुमा सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले बताए । ‘नेपालमा यति धेरै वृद्ध अवस्थामा पेसमेकर राखिएको रेकर्ड अहिलेसम्म थाहा छैन,’ डा.नेपाल भन्छन्, ‘९५ वर्षीय वृद्धलाई पेसमेकर राखिएको यो नै नेपालको पहिलो रेकर्ड हो ।’

राजधानीको गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. रोशन राउतले ९० वर्ष आसपासका व्यक्तिमा पेसमेकर राखिएको भए पनि बढीमा कति उमेरसम्मका व्यक्तिलाई पेसमेकर राखिएको छ भन्ने यकिन नभएको बताए ।

डाक्टरका अनुसार वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा करिब ६० देखि १ सय पटक धड्कन्छ । मुटुको धड्कन आवश्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुनाले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, मुर्छा पर्ने र मृत्युसमेत हुने खतरा हुन्छ ।

जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउन मिल्ने भए पनि सामान्यतः ६५ देखि ८० वर्ष उमेरका व्यक्तिलाई बढी मात्रामा पेसमेकर राख्ने गरिएको डाक्टरहरू बताउँछन् । पेसमेकर राखेपछि आफूलाई पहिलेको तुलनामा धेरै सन्चो भएको देवानले बताए ।
वृद्धको अप्रेसन गर्न धेरै खतरा हुने भए पनि नोबेलले देवानलाई निको बनाएपछि उनका आफन्त पनि हर्षित छन् । नोबेलले यसअघि मोफसलमै पहिलो पटक ईपी ल्याब सञ्चालन गरी मुटुको चाल गडबडी भएका बिरामीलाई विराटनगरमै उपचार सेवा दिन थालेको थियो ।

Pacemaker-Photo-3 Pacemaker-Photo-4