विराटनगरः भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको सफल परीक्षण आइतबार गरिएको छ । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टर्म यार्डसम्मको ट्रयाकको परीक्षण गरिएको हो ।
१ महिनापछि १२ डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगरसहित बथनाहा–कटहरीसम्मको रेलमार्गलाई एकैपटक शुभारम्भ गर्ने भनिएसँगै ट्रयाक परीक्षण गरिएको थियो । परीक्षणसँगै बथनाहा–बुधनगरको ८ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भइसकेको जोगबनी–विराटनगर रेलमार्ग परियोजना इर्कनका एजीएम अश्विनीकुमारले बताए ।
नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दुरीमा परीक्षण सफल भएको छ । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म १३१०२ डब्लुडीजी ३ ए को इन्जिन रोलिङ नेपाली र भारतीय झण्डा राखेर झण्डै एकघण्टामा आइपुगेको हो । नियमित रेल सञ्चालनमा यो दुरी जम्मा १५ मिनेटमा पार गरिसक्ने छ । रेलमार्ग परियोजना इर्कनले गरेको परीक्षणमा नेपाल र भारतका सरकारी अधिकारीको उपस्थिति भने थिएन ।
वडाध्यक्षले गरे रेलको स्वागत
ट्रायल परीक्षणमा आएको रोलिङ इन्जिनमा भारतीय सञ्चारकर्मी तथा रेलमार्ग परियोजना अन्तर्गतका निर्माण कम्पनीका पदाधिकारीको बाक्लो उपस्थिति थियो । विराटनगर–१८ का वडाध्यक्ष सन्जयकुमार साहले आफ्नै वडामा रेल आउँदा स्थानीयसहित नेपाली झण्डाले स्वागत गरेका थिए ।
जोगबनी–विराटनगर रेलमार्ग परियोजनाका असिस्टेन्ट मेनेजर रणवीरकुमारका अनुसार आगामी १ वर्ष भित्रमा तोकिएको १८ दशमलव ६ किलोमिटर भित्रै रेल पु¥याउने गरी काम भइरहेको छ । यस अघि कुल दुरीमध्ये १६ किलोमिटरसम्म मात्रै रेलमार्ग बिस्तार गर्ने तयारीका साथ काम गरिए पनि नेपालमा जग्गा मुआब्जा विवाद समाधान भएसँगै कटहरीसम्मको पूरै दुरीको काम अगाडि बढ्ने उनको भनाइ छ ।
मुआब्जा विवाद नरहेको र लिक बिछ्याउनका लागि सडकको ट्रयाक खोलिएको १६ किलोमिटरको काम समेत धमाधम भइरहेकाले ट्रयाक खोल्न बाँकी दुरीमा अब काम थालिने भएको छ । पहिलो चरणमा बथनाहा–बुधनगरसम्मको ८ किलोमिटरमा रेलको उद्घाटन गरेर भन्सार जाँच चौकीसम्म माल सामान लिएर रेल आउने छ । त्यसपछि क्रमश बुधनगर–कटहरीतर्फ रेल सेवालाई बिस्तार गरिने छ ।
८ वर्ष अघि भएको थियो समझदारी
नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग बिस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआबजा नेपाल सरकारले बेहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याइपु¥याउनु पर्ने भए पनि विराटनगर–जोगबनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद, विभिन्न राजनीतिक आन्दोलनको असर लगायतले समयमै निर्माण हुन भने नसकेको बताइएको छ ।
रेलमार्ग निर्माण परियोजना इर्कनका एजीएम अश्विनीकुमारका अनुसार अबको १ वर्षभित्र सबै काम पूरा भई तोकिएको क्षेत्रसम्म रेल पुग्ने छ । बथनाहा, भेडियारी, बुधनगरमा कस्टम यार्ड निर्माण सम्पन्न भइसकेको छ । कटहरीमा बन्नुपर्ने मुख्य स्टेशनको कामका लागि तयारी शुरु भएको छ ।
गत बैशाख १६ गते सीमावर्ती भारतीय बजार बथनाहामा नेपाली मालवस्तु बोकेर मालवाहक रेल आएको थियो । उक्त मालवस्तु बोकेको रेल कटहरीमा रोकिनु पर्ने भए पनि बुधनगरसम्मको रेलमार्गको ट्रायल परीक्षण मात्रै गरिएको हो ।