इटहरीः साताको पहिलो दिनको नेपाली सेयर बजार राताम्मे भएको छ । बैंकमा लगानीयोग्य रकम अभाव रहेको सूचनाका आधारमा बजार घटेको अनुमान गरिएको छ । बजार खुलेसँगै ओरालो लागेको नेप्से उकालो लाग्न नसकेको हो ।

बजार खुलेको आधा घण्टासम्म तीव्र गतिमा झरेको बजार त्यसपछि भने मन्द गतिमा ओरालो लागेको हो । बजार खुलेको आधा घण्टामा नै ८ अङ्कभन्दा बढी अङ्कले तल झरेको बजार त्यसपछि भने सुस्त गतिमा तल झर्दै दिउँसो साढे २ बजे १३ अङ्कभन्दा बढीले तल झरेको थियो । त्यसपछि बजार केही उकालो लाग्न खोजे पनि सम्हालिन सकेन ।

आइतबार नेप्से सूचक १३ दशमलव ७० अङ्कले घटेर १२०७ दशमलव २८ अङ्कमा आइपुगेको छ । समग्रमा बजार १ दशमलव १२ प्रतिशतले ओरालो लागेको हो । जम्मा १ सय ५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २७ लाख २९ हजार १ सय ३० कित्ता सेयर ३ हजार ६ सय ४२ पटक कारोबार भएको छ । माछापुच्छ«े बैंक र निर्धन उत्थान विकास बैंकको संस्थापक सेयरको म्याचिङ कारोबारले अघिल्लो कारोबारको भन्दा शतप्रतिशत बढी कारोबार गराएको हो ।

उच्च कारोबार हुनेमा माछापुच्छे« र निर्धन उत्थानको संस्थापक सेयर
आइतबार माछापुच्छ«े बैंक र निर्धन उत्थान बैंकको संस्थापक सेयरको म्यानुअल कारोबार हुँदा कारोबार रकम उच्च देखिएको छ । माछापुच्छ«को संस्थापक सेयर ब्रोकर नम्बर ४६ ले ब्रोकर नम्बर ३८ लाई ६ लाख ३७ हजार ९३ कित्ता बेचेको छ । त्यस्तै, त्यति नै परिमाणको सेयर कित्ता ब्रोकर नम्बर ३८ ले ब्रोकर नम्बर ४६ लाई एउटै रेटमा बेचेको छ ।

निर्धन उत्थान बैंकको संस्थापक सेयर भने ब्रोकर नम्बर ४० बाट बिक्री भएको छ भने ब्रोकर नम्बर ३४ ले किनेको छ । माछापुच्छे«को संस्थापक सेयर १६ करोड ५६ लाख ४४ हजार १ सय ८० रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निर्धन उत्थान बैंकको संस्थापक सेयर ११ करोड ८ लाख ६५ हजार ३ सय ५० रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको ४ करोड ८३ लाख १ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

अन्य समूहबाहेक सबै सूचकमा रातो
आइतबार कुल १० वटा समूहको सेयर कारोबार भएकामा अन्य समूहबाहेक बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । अन्य समूहको सूचक भने ० दशमलव ५७ प्रतिशतले माथि गएको छ ।

सबैभन्दा धेरै बैंकिङ समूहको सूचकमा १ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । जीवन बिमा समूहको सूचक १ दशमलव ५८ प्रतिशतले तल झर्दा निर्जीवन बीमा समूहको सूचक १ दशमलव १७ प्रतिशतले तल झरेको छ । सबैभन्दा कम होटल समूहको सूचक ० दशमलव २७ प्रतिशतले तल झरेको छ ।

३ वटा कम्पनीको मात्रै १ लाखभन्दा बढी कित्ता कारोबार
आइतबार माछापुच्छ«े बैंकको संस्थापक सेयर सबैभन्दा धेरै १२ लाख ७४ हजार १ सय ८६ कित्ता किनबेच भएको छ । निर्धन उत्थान बैंकको संस्थापक सेयर २ लाख १ हजार ५ सय ५० कित्ता कारोबार भएको छ । प्रभु बैंकको १ लाख ९१ हजार ४ सय ९८ कित्ता सेयर कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको सेयर सङ्ख्याले १ लाखको अङ्क छुन सकेन ।

कारोबार सङ्ख्यामा प्रभु बैंक अघि
आइतबार कारोबार सङ्ख्याको आधारमा प्रभु बैंकले अग्रता लिएको छ । सो बैंकको ४ सय २५ पटक कारोबार हुँदा एभरेष्ट बैंकको २ सय ६१ पटक कारोबार भएको छ । त्यस्तै, कालिका पावर कम्पनी लिमिटेडको १ सय १५ पटक कारोबार हुँदा नेपाल सेवा लघुवित्तको १ सय ९ पटक, पञ्चकन्या माइ हाइड्रोपावरको १ सय ६ पटक र लाइफ इन्स्योरेन्स कम्पनीको १ सय ५ पटक सेयर कारोबार भएको छ । अन्य कम्पनीको कारोबार सङ्ख्या ९० भन्दा तल छ ।

समताका लगानीकर्ता मालामाल
घटेको बजारमा समता माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भएका छन् । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढेकोमा पछि केही करेक्सन भई ७ दशमलव २० प्रतिशतले बढ्न पुगेको छ । साइन रेसुङ्गाका लगानीकर्ताले ३ दशमलव ६ प्रतिशतले कमाउँदा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले २ दशमलव ६२ प्रतिशतले कमाएका छन् । जम्मा २१ कम्पनीका लगानीकर्ताले बिहीबारको तुलनामा सम्पत्ति कमाएका छन् ।

मूल्य घट्नेमा लाइफ इन्स्योरेन्स कम्पनी
३६ प्रतिशत बोनस सेयर घोषणा गरेको लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बीमा समितिले १२ प्रतिशतमात्रै बोनस सेयर दिन स्वीकृति दिएपछि सो कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । सो कम्पनीको ५ दशमलव ६३ प्रतिशतले सेयर मूल्य घट्दा नगद लाभांश मात्रै दिने घोषणा गरेको एभरेष्ट बैंकको सेयरमूल्य ५ दशमलव ४४ प्रतिशतले झरेको छ । हिमालयन डिस्टिलरीका लगानीकर्ताले ४ दशमलव ५३ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ४० अर्ब कायम भएको छ ।