इटहरीः शनिबार साँझ सुन्दरहरैंचा–७ गोठगाउँका गोविन्द दुलालको घरमा आगो लाग्दा ७५ लाखबराबरको क्षति भएको परिवारले जनाएको छ ।

‘परिवारका ५ जना सदस्यले आङमा लगाएको कपडाबाहेक केही बचेन’ आइतबार साँझ फोन सम्पर्कमा दुलालले भने, ‘दमकल ढिलो आएकाले आगो निभाउन पनि समस्या भयो । लगभग ७५ लाखको क्षति भएको अनुमान छ ।’ घरमा रहेको नगद २ लाख ७५ हजारसहित सो परिमाणको क्षति भएको अनुमान गरिएको पीडितले बताए ।

संस्थागत राहत आएको छैन
पीडित दुलालका अनुसार संस्थागत राहत भने प्राप्त भएको छैन । वास बस्ने स्थान नभएको हुनाले आफन्तको घरमा आश्रय लिइरहेको उनले बताए । घटनाको मुचुल्का प्रहरीले तयार पारेको र संस्थागत राहतको लागि प्रक्रिया चलिरहेको उनले बताए ।

५२ हजार रुपैयाँ सहयोग
स्थानीयवासीमार्फत् सङ्कलन भएको ५२ हजार रुपैयाँ प्राप्त भएको पीडित दुलालले बताए । २ समूहले सङ्कलन गरेको रकम प्राप्त भएको उनले जनाए ।

‘हामीले बिहानैदेखि घरघरमा गएर सहयोग रकम सङ्कलन गरेका थियौं’, नेकपाका नेता गोकुल न्यौपानेले भने, ‘जम्मा २६ हजार ६ सय १० रुपैयाँ हामीले सङ्कलन गरी पीडित परिवारलाई बुझाएका छौं ।’ उनका अनुसार घटनास्थल आसपासको क्षेत्रमा अर्काे टोलीले राहत सङ्कलन गरेको थियो ।

प्रहरीका अनुसार ९ लाख क्षति
पीडितले ७५ लाखको क्षति भएको अनुमान गरे पनि प्रहरीले भने ९ लाखको क्षति भएको बताएको छ । प्रहरी चौकी गछियाका सञ्चार अपरेटर प्रहरी जवान बौद्धराम यादवका अनुसार ९ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । क्षति मूल्याङ्कन गरी मुचुल्का तयार पारी पीडित पक्षलाई बुझाइएको र पीडित पक्षले आवश्यक प्रक्रिया चालेपछि राहत उपलब्ध हुने उनले बताए ।

शनिबार साँझ बिजुली सर्ट भई आगलागी हुँदा दुलालको घर तथा कुखुरा फार्म पूर्ण रूपमा जलेको थियो ।

aago 1