धरान: धरान उपमहानगरपालिको बजार अनुगमन समितिले आइतबार धरानको बजार अनुगमन गरेको छ । समितिले धरानको प्रतिष्ठित खाद्यय कम्पनीसहित ११ वटा खुद्रा पसलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा मुल्य सुचि नराखिएको, दर्ता नगरेको, दर्ता प्रमाणपत्र नविकरण नगरिएको पाइएको अनुगमन समितिका संयोजक दिवश अधिकारीले बताए । उनका अनुसार गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखा, सेल्सबेरीको धरान शाखामा मापदण्ड अनुसार लेवलिङ नगरिएको सामान पाइएकोले अनिवार्य लेवलिङ गर्न सुझाब दिइएको छ । ‘कतिपय पसलहरुमा आफैले प्याक गर्नुभएको सामान जस्तै काजु, किसमिस, दाल, चिनीमा लेवलिङ नमिलाएको पायौं ।’ अनुगमन समितिका संयोजक अधिकारीले भने ‘सामानको डिटेल अनिवार्य राख्नुस् भनेका छौं ।’
यसैगरी, धरान–१३ को ज्याेती किराना पसलमा २ वटा अचार म्याद गुज्रेको फेला परेको थियो । त्यसैगरी, धरानको प्रतिष्ठित थोक विक्रेता जयमाता दी कन्सर्न प्रा.लि, पिंकी इन्टरनेशनल, जय माता दी कन्सर्न र नेहाज कन्सर्नमा दर्ता प्रमाणपत्र नविकरण नगरिएको पाइएको हो । ‘म्याद गुज्रिएको सामानहरु हामीले ल्याएका छौँ ।’ समितिका संयोजक अधिकारीले भने ‘नविकरण नभएकालाई नविकरण गर्न भनेका छौं, आफ्नो डकुमेन्ट्सहरु सबै देखिने ठाउँमा राख्न सुझाब दिएका छौं, पहिला भन्दा धेरै सुधार भएको पायौ ।’
आगामी दिनमा यस्ता साना त्रुटिहरु नदेखाउने सचेत गराएको उनले बताए ।
उपभोक्ताहरुको स्वास्थ्यसंग जोडिएकाले सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च डिभिजन समितिका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले बताए । व्यावसायीहरुलाई यसपटक कमजोरी सच्याउने सर्तमा छाडिएको उनले बताए । ‘यसपटक सच्चिने मौका दिएका हौं ।’ उनले भने ‘अर्को अनुगमनमा पनि त्यस्तै पाइए प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’
कुनै सामानको प्याकेजिङ गर्दा खाद्यय ऐन अनुसार लेवलिङ अनिवार्य रुपमा गरिनुपर्ने अनुगमन समितिका सदस्य एबंम खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बुले बताए । सामानको लेवलिङ पूर्ण रुपमा नगर्दा उपभोक्ताहरु झुक्किन सक्नेतर्फ उनले सचेत गराए । ‘हेर्दा खेरी एउटै देखिने प्रोडक्ट त धेरै छ नी, कपिय मानिसहरु हरियो मास र मुङको दालमा झुक्किन सक्छन् ।’ उनले भने ‘लेवल मा चै कहिले बनेको हो, मुल्य कति हो, कहीलेसम्म खान मिल्छ सम्पूर्ण इन्फरमेसन हुन्छ, त्यसैले लेवल चै अनिवार्य राखिनुपर्छ ।’
खाद्यय ऐन सबैले बुझ्न जरुरी रहेको उनले बताए । खाद्यय ऐन २०२३ मा केही त्रुटिहरुले खाद्यय ऐन २०७५ परिमार्जित भएर आउने तयारीमा रहेको उनले बताए । परिमार्जित ऐनले बजारमा रहेका बेथितीहरु केही हदसम्म अन्त्य हुने उनले दाबी गरे ।
समितिका संयोजक दिवश अधिकारीको संयोजकत्वमा गरिएको अनुगमनमा खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी, उपभोक्ता हित संरक्षण मञ्च क्षेत्रीय समिति, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले अनुगमन गरेको हो । छाता चोकदेखि शुरु भएको अनुगमन जिरो पोइन्ट हुदै गोरखा डिपार्टमेन्ट हुदै सेल्सबेरीमा आएर टुङिगएको थियो ।