इटहरीः २०२३ सालमा स्थापना भएको राजा (राष्ट्रिय जागृति) क्लब इटहरीको पुरानो क्लब हो । सांस्कृतिक कार्यक्रम गर्ने मूल उद्देश्य बोकेर इटहरीका तत्कालीन युवाले क्लब स्थापना गरेका थिए । सोही क्लबले हरेक वर्ष नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सार्वजनिक रूपमा अभिनन्दन गर्ने गर्छ ।
हरेक वर्ष गर्ने कार्यक्रम झैं यस वर्ष जनगायक जीवन शर्मालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक रविन गौतमले जानकारी दिए । उनका अनुसार नेपाली माटोको सुुगन्ध बोकेका समाजका तल्लो वर्गका पसिनालाई शर्माले शब्दमा उतार्छन् । जनजीवनका तिनै सुखदुःखलाई सङ्गीतबद्ध गर्ने शर्मा यस पटक राजा क्लबद्वारा अभिनन्दित हुन लागेका हुन् ।
क्लबले यस अघि शान्ति ठटाल, शम्भुजीत बासकोटा, गणेश रसिक, रामेश श्रेष्ठ, दीप श्रेष्ठ, एलपी जोशी, मणिकमल क्षेत्री, शम्भुु राई आशाराम चतुर्वेदी, दीपक लिम्बू, लगायतलाई सम्मान गरिसकेको क्लबका अध्यक्ष सञ्जीव ढुुङ्गानाले जानकारी दिए ।
क्लबमार्फत् सङ्गीत क्षेत्रमा आएका कलाकारले आफ्नो नाम उचो राख्न सफल भएको पनि उनले बताए । खेमराज गुरुङ, प्राश्ना शाक्य, बालकृष्ण कार्की, होम घिसिङलगायतले साङ्गीतिक क्षेत्रमा उच्च स्थान बनाएको उनले बताए । अध्यक्ष ढुङ्गानाका अनुसार उनीहरू राजा क्लबमार्फत् सङ्गीत क्षेत्रमा होमिएका थिए ।
ढुङ्गानाका अनुसार क्लब सङ्गीत क्षेत्रको मात्र नभएर खेलकुद क्षेत्रको पनि उन्नयनमा लागि परेको छ । विभिन्न राष्ट्रिय स्तरका खेल खेलाउने क्लब राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने राम्रो प्लेटफर्म पनि भएको उनले बताए । क्लबमार्फत् खेलेका खेलाडी राष्ट्रिय खेलकुदमा योगदान गर्ने तहसम्म पुुगे । उनले लिएका नाममध्ये सुरेन्द्र तामाङ, रितेश थापा त्यस्ता खेलाडी हुन् ।
सिडी तथा क्यासेट प्लेयरको आविष्कार नभएको बेलामा समाजमा मनोरञ्जन प्रदान गर्न विभिन्न सांस्कृतिक कार्यक्रम हुन्थे । तिनै कार्यक्रमका माध्यमबाट सामाजिक जागरण ल्याउने उद्देश्य बोकिएको हुँदा क्लबको नाम राष्ट्रिय जागृति क्लब राखिएको थियो । प्रायः विशेष महत्वपूर्ण चाडपर्वमा हुने सांस्कृतिक कार्यक्रमको परम्परालाई हालसम्म पनि क्लबले निरन्तरता दिइरहेको छ । क्लबका संस्थापक अध्यक्ष पूर्वमन्त्री रामकुमार सुुब्बा हुन् ।