इटहरीः नेपालका मूल धारका दलहरू भन्दा पृथक र नयाँ राजनीतिक शक्ति बन्ने दाबा गर्दै आएको विवेकशील साझा पार्टीको सङ्गठन बिस्तार अभियान विराटनगर आइपुगेको छ । सुदुर पश्चिमको धनगढीबाट शुरु भएको सङ्गठन विस्तार अभियान हाल प्रदेश १ को विराटनगरमा आएको हो ।

आइतबार विराटनगरको गुद्री बी प्लट क्षेत्रमा आयोजित सभामा विवेकशील साझा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । नागरिक सभा नाम दिइएको सभालाई सम्बोधन गर्दै पार्टी संयोजक रवीन्द्र मिश्रले कुसंस्कृत राजनीतिको जर्जरता अन्त्य गर्ने सुसांस्कृतिक राजनीति आफूहरूले अगाडि बढाएको बताए । उनले भने, ‘७० वर्ष अगाडि नेपाली राजनीतिक क्रान्तिको विगुल फुकिएको विराटनगरको बेहालले मुलुकको अवस्था चित्रण गरेको छ ।’

विकेकशील साझाका पार्टी प्रवक्ता सूर्यराज आचार्यले दुइ तिहाइको सरकारले समेत जनतालाई निराश पारेको भन्दै अहिलेका पार्टीहरूबाट समृद्धि सम्भव नभएको बताए । पुराना पार्टीको विकल्पमा विवेकशील साझा नै जनतामाझ आएको पनि प्रवक्ता आचार्यले बताए ।

समारोहमा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले विवेकशील साझा पार्टीको लडाइँ भ्रष्टाचार, गरिबी, अशिक्षा, विभेद र बेथितिका विरुद्ध भएको बताए । परियारले इमानदार, दक्ष र दुरदृष्टि नेतृत्वबाट मात्रै मुलुकको रूपान्तरण हुने बताए ।

विवेकशील साझा पार्टीले सङ्गठन विस्तार विशेष अभियान नाम दिएर खुला सभा र अगुवा नेताहरूलाई पार्टी र नेतृत्वबारेमा प्रशिक्षण तथा अभिमुखीकरणहरू सञ्चालन गरिरहेको छ । प्रदेश १ को अभिमुखीकरण अभियान उर्लाबारीमा हुने पार्टीका अगुवा सङ्गठक सन्तोष घिमिरेले बताए । विवेकशील साझा पार्टीले यस अगाडि धनगढी, महेन्द्रनगर, सुर्खेत, बुटवल, हेटौंडा, चितवन, ललितपुर तथा काठमाडौंमा सभा र प्रशिक्षणहरू सञ्चालन गरिसकेको छ ।

bibekshil sajha sabha biratnagar