इटहरीः कफी संसारको सर्वाधिक रुचाइएको पेय पदार्थ हो । विशेषगरी जाडो मौसममा तातो एवम् मीठो कफी पिउन कसलाई पो मन लाग्दैन र ? बजारमा अनेकौं ब्राण्ड र किसिमका कफी पाइन्छन्, तर संसारको सबैभन्दा महङ्गो कफीको बारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ ।

800x-1 (3)
आउनुहोस्, आज संसारकै महङ्गो कफीको बारेमा केही जानकारी लिऔं । ‘ब्ल्याक आइभोरी ब्लेन्ड’ नाम दिइएको कफी संसारकै सबैभन्दा महङ्गो कफी हो र यसलाई बनाउने क्रममा हात्तीको थासो (दिसा) को प्रयोग गरिएको हुन्छ । उत्तरी थाइल्याण्डको बानताक्लाङ गाउँमा बनाइने सो ब्ल्याक आइभोरी ब्लेन्ड कफी हात्तीको दिसा अथवा त्यसमा भेटिने कफीका दानाहरूबाट तयार गरिन्छ । यस्तो १ केजी कफीको मूल्य करिब १ हजार ९ सय डलर (झण्डै २ लाख नेपाली रुपैयाँ) पर्न आउँछ ।

800x-1 (5)
यस्तो कफी बनाउनको लागि सबैभन्दा पहिला हात्तीलाई कफीको दाना खुवाइन्छ । हात्तीले काँचो फलसमेत खान्छ । उसले कफीको दाना पचाउँछ र दिसा गर्दछ । एक किलो कफी बनाउनको लागि एउटा हात्तीलाई लगभग ३३ किलो कफीको काँचो दाना खुवाउनुपर्छ । हात्तीको दिसाबाट कफीको दाना निकाल्ने काम प्रशिक्षित हात्तीको माहुतेले गर्दछ । कफीको दाना हात्तीको दिसाबाट निकालेपछि त्यसलाई घाममा सुकाइन्छ र मसिनोगरी पिसेर पाउडर बनाइन्छ । विशेष कुरा यसमा के हुन्छ भने यस्तो कफीमा कडापन कत्ति पनि हुँदैन । पाचनक्रियाको क्रममा हात्तीको पाचन प्रणालीबाट निस्किने एन्जाइमले कफीको प्रोटिनलाई तोडिदिन्छ भन्ने विश्वास गरिन्छ । प्रोटिन टुक्रिएपछि कफीको कडापन अन्ततः सकिन्छ ।

800x-1 (6)
योसँगै हात्तीलाई केरालगायतका अन्य फल पनि खुवाइन्छ, जसका कारण कफीमा एउटा अर्कै नयाँ बासना आउँछ । यसप्रकार संसारको सबैभन्दा महङ्गो कफी तयार हुन्छ । यो कफी एशिया महादेशभित्र सिंगापुर, थाइल्याण्ड र हङकङलगायत अन्य देशका करीब २५ विलासी एवम् महङ्गा होटलमा मात्र बिक्रीका लागि राखिएको बताइएको छ ।

800x-1 (10)

 


800x-1 (7) 800x-1 (8) 800x-1 (9) 800x-1 सङ्कलकः अनिल पोख्रेल

(एजेन्सीको सहयोगमा)